करेन्ट लगाएर माछा मार्दा एकैदिन दुईजनाको ज्यान गयो
झापा, मंसिर ७ । झापा बिर्तामोड वडा न.७ मियाबारीस्थित रेखा खोलामा करेन्ट लगाएर माछा मार्दा आनन्द चौधरीको मृत्यु भएको खुल्न आएको छ ।

गएराति वडा नं ६ बस्ने ५२ वर्षीय आनन्द चौधरीसंग सोही ठाउँ बस्ने ४८वर्षीय पुरन चौधरी र वडा नं ७ बस्ने ३२ वर्षीय श्याम चौधरी करेन्ट लगाएर माछा मार्न रेखा खोला गएका थिए । माछा मार्ने क्रममा आनन्दलाई करेन्ट लागेको थियो । घाइतेलाई उपचारका लागि अस्पताल लैजाने प्रयास गर्दा गर्दै मृत्यु भएपछि पुरन र श्यामले खोला किनारमा शव छोडेका थिए ।

करेन्ट लगाएर माछा मार्ने क्रममा आनन्दको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले पुष्टि गरे । उनले घटनास्थलबाट करेन्ट लगाएर माछा मार्ने तार बरामद भएको जानकारी दिए । करेन्ट लगाएर माछा मार्दै आएका आनन्दको सहयोगीका रुपमा पुरन र श्याम गएको बताइएको छ । आनन्दलाई करेन्ट लागेपछि उनीहरुले एम्बुलेन्स बोलाएर उपचारका लागि लैजान खोजेका थिए । तर, उपचारका लागि लैजान नपाउँदै आनन्दको मृत्यु भएको थियो ।

अनुसन्धानको क्रममा पुरन र श्यामलाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा राखिएको छ ।राति १बजे कानुनी प्रकृया पुरा गरी मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

हिजै झापामा करेन्ट लगाएर माछा मार्दा अर्का एकजनाको मृत्यु भएको थियो । हिजो दिउँसो १२ः२० बजे गौरादह वडा नं ६ र गौरीगंज वडा नं ६ को सिमाना पर्ने रामचन्द्रे खोलामा गौरादह ६ आरतिनगर बस्ने ५० वर्षीय रामकुमार ताजपुरियाले करेन्ट लगाएर माछा मार्दा आफैलाई करेन्ट लागेर उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्