झापा,मंसिर ७ । भोजपुरमा उत्पादित अलैँचीले मूल्य पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन् ।

यस वर्ष अलैँची प्रतिमन रु. ९८ हजारसम्ममा कारोबार भइरहेको टेम्केमैयुङ–५ चोलन्तीका किसान चक्रबहादुर विष्टले जानकारी दिए ।
केही वर्षयता अलैँचीले निरन्तर उकालो मूल्य पाउँदै आएकाले किसान खेती विस्तारमा झन् सक्रिय बनेको उनको भनाइ छ । यस वर्ष आफूले करिब साढे सात मन अलैँची उत्पादन गरेको उनले बताए । गाउँका कतिपय किसानले अझै मूल्य बढ्ने आशामा उत्पादन बिक्री नगरी घरमै भण्डारण गरेर राखेका छन् । “गाउँघरमै अहिले अलैँची रु. ९८ हजारसम्ममा कारोबार भइरहेको छ”, किसान विष्टले भने, “कतिपय किसानले बिक्री गरिसके, केहीले भाउ अझै बढ्ला कि भनेर राखेका छन् । बजारमूल्यको प्रतीक्षा गर्दै बसेको अवस्था पनि छ ।”
टेम्केमैयुङ–५ चोलन्ती अलैँचीको राम्रो उत्पादन हुने क्षेत्रका रूपमा परिचित छ । यहाँका करिब ८०–९० घर किसानले व्यावसायिक रूपमा अलैँली खेती गर्दै आएका छन् । विगतको वर्षका तुलनामा यो क्षेत्रमा अलैँचीको उत्पादनमासमेत वृद्धि भएको अलैँची व्यावसायी महासङ्घका अध्यक्ष राजेश विष्टले बताए । मूल्य बढेसँगै किसान खेती विस्तारमा जुटेको उनले जानकारी दिए ।
“समग्र अलैँची उत्पादन केही घटे पनि यो क्षेत्रमा भने गत वर्षको तुलनामा उत्पादन बढेको देखिन्छ”, अध्यक्ष विष्टले भने, “रोग कीराको समस्या केही देखिए पनि किसानको उत्साह कम भएको छैन । मूल्य बढेकै कारण खेती विस्तार गर्नेतर्फ सबैजना लागेको अवस्था छ ।”
कृषि ज्ञान केन्द्रले जिल्लामा अहिले करिब पाँच सय ९७ हेक्टर क्षेत्रमा अलैँचीखेती भइरहेको जनाएको छ । यहाँ प्रायः रामशाही, गोलशाही, डम्बरशाही र जिर्मले जातका अलैँचीको खेती हुने गरेको केन्द्रले जनाएको छ ।



