झापा, मंसिर ७ । जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विजय राई इलाम जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय इलामले कात्तिक महिनाको उत्कृष्ट प्रहरी (पुलिस अफ द मन्थ) घोषित गरी सम्मान गरेको हो । जिल्लाभित्र रहेका विभिन्न सामाजिक निकाय, विद्यालय, समुदाय, टोल विकास संस्था, युवा क्लव, महिला समूह, व्यापारिक संघ–संगठन तथा गैर–ससरकारी संस्थाहरूसँग नियमित समन्वय एवं भेटघाट कार्यक्रम संचालन गरी जिल्लामा भइरहेका वर्तमान सामाजिक, आर्थिक तथा आपराधिक अवस्थाको तथ्यगत जानकारी संकलन, सम्भावित जोखिम क्षेत्र पहिचान, समस्या समाधानका उपाय तथा स्थानीयस्तरमा उत्पन्न हुनसक्ने विवाद, झगडा, आपराधिक गतिविधि र असामाजिक व्यवहारको रोकथाममा उनले प्रभावकारी भूमिका निर्वाह गरेका छन् ।

त्यस्तै स्थानीय रेडियोहरूमार्फत लागूपदार्थ दुरुपयोग, साइबर अपराध, ट्राफिक शिक्षा, लिङ्गमा आधारित हिंसा, मानव बेचविखन, दैवीप्रकोप व्यवस्थापन तथा शान्ति–सुरक्षा सम्बन्धी जनचेतनामूलक प्रहरी कार्यक्रमहरू सञ्चालन गर्दै सामान्य नागरिकलाई सजिलै बुझिने भाषामा सूचना प्रवाह गरी समुदायमा प्रहरीसँग साझेदारी र सहकार्यको मनोवृत्ति सिर्जना गर्दै आएका छन् । साथै विद्यालय तथा समुदायस्तरमा युवाहरूलाई सक्रिय गराई युवाहरूलाई सकारात्मक सामाजिक गतिविधिमा सहभागी गराउने वातावरण निर्माण गर्दै आएका छन् ।

बाढी, पहिरो, वा अन्य आकस्मिक अवस्थाहरूमा प्रायः स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता, नागरिक समाज तथा स्वयंसेवी समूहसँग समन्वय गरी मानवीय राहत तथा उद्धार कार्यमा सहयोगी भूमिका प्रस्तुत गरेका छन् ।

त्यस्तै समुदायभित्रका विभिन्न समूह, संस्था, विद्यालय, महिला समूह तथा युवा क्लवहरूसँग नियमित संवाद र सहकार्य गरी समुदायमा उत्पन्न हुने समस्या र चुनौतीहरूलाई नजिकबाट पहिचान गर्दै त्यसको समाधानमा समुदायकै सहभागितामा सुनिश्चित गर्ने लक्ष्यका साथ समुदाय प्रहरी साझेदारी कार्यकमलाई सक्रिय रुपमा परिचालन गर्दै समुदाय प्रहरी कार्यक्रममार्फत प्रहरी र जनताबीचको विश्वास, सहकार्य र आत्मीयता बढाउँदै जनमानसमा प्रहरी संगठनको छवि उच्च, सकारात्मक र विश्वासयोग्य राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाले राईलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एकनारायण कोईरालाले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्