झापा, मंसिर ८ । पुराना राजनीतिक दलबाट असन्तुष्ट हुँदै बैकल्पिक शक्तिको खोजीमा रहेका इन्जिनियर महेन्द्रकुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी छोडेर कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसंग जोडिएका छन् ।

उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा बुझाएको ५१ जनाको नामावलीमा उनी पनि परेका छन् । उनी इलामबाट उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य बनेका हुन् ।
बैकल्पिक राजनीतिक चिन्तन, विचार र सोचका अभियन्ता थापा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश सदस्यको जिम्मेवारीमा थिए । उनी त्यसअघि विवेकशील साझा पार्टीको कोशी प्रदेश प्रमुख तथा केन्द्रीय कार्यसम्पादन सचिवालयका पदाधिकारी रही राजनीतिक गतिबिधिमा सक्रिय रहेका थिए ।
उनलाई आगामी २०८४ सालको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बिर्तामोड नगरपालिकाको मेयरको उम्मेदवार बनाउने चर्चा पनि चलेको थियो । रास्वपामा रहँदा कुनै भूमिका नदिएपछि आफूले नयाँ वैकल्पिक शक्तिको रुपमा उज्यालो नेपाल पार्टीलाई रोजेको थापाले प्रतिक्रिया दिएका छन् ।
कुलमान घिसिङको समन्वयमा दर्ता भएको उज्यालो नेपाल पार्टीमा समाजका लब्धप्रतिष्ठित व्यक्तिहरू रहेका छन् । उज्यालो नेपाल पार्टीले आफ्ना पदाधिकारीको सूचीसहित निर्वाचन आयोगमा दर्ता गरेका सूचीमा डाक्टर, इन्जिनियर, पर्वतारोहीदेखि पहिचान पक्षधरसम्म देखिएका छन् । त्यसमा इलामबाट इन्जिनियर थापालाई समेटिएको हो ।
थापा आर्किटेक्ट इन्जिनियर हुन् । उनी रियल स्टेटको व्यवसाय गर्छन् । उनले बिगत लामो समयदेखि नै विभिन्न संघ संस्थामार्फत सामाजिक कार्य गर्दै आएका छन् । उनी इलामका समाजसेवी, राजनीतिज्ञ तथा ब्यवसायी नारायण थापाका कान्छा छोरा हुन् । इलामको फोकफोकथुम गाउँपालिका कोल्बोटेमा जन्मेर इलाम नगरपालिका स्थाई घर भएका थापाले इलाम आदर्श माध्यमिक बिद्यालयबाट एस. एल.सी. उत्तीर्ण गरेका थिए । उनले भारतको बेङ्गलोर विश्वविद्यालयबाट इन्जिनियरिङ बिषयमा स्नातक गरेका थिए ।



