झापा, मंसिर ८ । जेनजी आन्दोलनका क्रममा काठमाण्डौको प्रहरी कार्यालयबाट लुटिएका दुईवटा हतियार र २० राउण्ड गोलीसहित कांग्रेस नेता विश्वदीप लिङ्देनका छोरासहित तीनजना पक्राउ परेका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएको हतियार र गोलीसहित झापा दमक वडा न.६, प्रशान्ती टोल निवासी कांग्रेस नेता विश्वदीप लिङ्देनका छोरा २९ वर्षीय विश्व लिङ्देन , दमक वडा नं ९ बस्ने २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली वडा नं ४ आइतवारे बस्ने ३० वर्षीय पवन हाङसुङ्वा पक्राउ परेका हुन् ।

गएराति ८.३० बजे लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले दमक ९ स्थायी ठेगाना भई दमक ८ मा डेरा बस्दै आएका सरोज पुरीलाई कोठा बाहिर बाटोमा हिडडुल गर्दै गरेको अवस्थामा उनको साथबाट ठूलो चापे टाइप ५४ चाइनिज पेस्तोल थान १ र सोको गोली १५ राउण्डसहित फेला पारी थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकमा बुझाएको थियो ।

पुरीलाई इप्रका दमकमा ल्याई सोधपुछ गर्दा उनले दमक ६ प्रशान्ती टोल बस्ने कांग्रेस नेता विश्वदीप लिङ्देनका छोरा विश्व लिङ्देनलाई अर्को हतियार राख्न दिएको बयान दिएका थिए । त्यसको आधारमा लिङ्देनलाई उनको घरबाटै पक्राउ गरिएको थियो । लिङ्देनलाई थप सोधपुछ गर्दा उनले इलाम चुलाचुली ४ बस्ने पवन हाङसुङ्वालाई २० हजार रुपैयाँमा सो हतियार बेचेको बताएका थिए ।

त्यसपश्चात् लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेस लामिछानेको कमाण्डमा खटिएको टोली र इप्रका दमकबाट खटिएको टोली संयुक्त रुपमा उक्त स्थानमा पुगेर हेर्दा हाङसुङ्वाले आफ्नै बारीमा खाल्डो खनी रातो रंगको प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा ठुलो चापे टाईप ५४ चाइनिज पेस्तोल थान १ , सोको राउण्ड ५ पेस्तोलमा लोड गरी राखेको खिया लागेको अवस्थामा फेला परेको थियो । उनलाई समेत पक्राउ गरी इप्रका दमक ल्याइएको थियो । बरामद हतियारसहित तीनै जनालाई आबश्यक कार्वाहीको लागि काठमाण्डौ पठाइएको प्रहरी स्रोतले जनाएको छ ।

२०६४ सालमा तत्कालीन नेकपा माओवादीका तर्फबाट उम्मेदवार बनेका लिङ्देनले एमाले अध्यक्ष केपी ओलीलाई हराएका थिए । उनलाई दुई वर्षअघि कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सदस्यमा मनोनित गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्