झापा, मंसिर ९ । भदौ २४ को जेनजी आन्दोलनपछि स्वरुप परिवर्तन गरी ठुलो आवाजमा ध्वनि प्रदूषण गरेर चलाउने मोटरसाइकलको संख्या बढेपछि प्रहरीले कार्वाही अभियान चलाएको छ ।

करिव एक महिनाको अवधिमा ६० वटा मोटरसाइकलमाथि कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । कात्तिक १ गतेदेखि हिजो मंसिर ८ गतेसम्म त्यति धेरै मोटरसाइकललाई कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक सन्तोष राईले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडबाट २५ , ट्राफिक प्रहरी कार्यालय दमकबाट १५ , ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीबाट ६ , ट्राफिक प्रहरी पोष्ट सुरुङ्गाबाट ३ , ट्राफिक प्रहरी पोष्ट काँकडभिट्टाबाट ७, ट्राफिक प्रहरी पोष्ट शनिश्चरेबाट २ र ट्राफिक प्रहरी पोष्ट बुधवारेबाट २ वटा मोटरसाइकलमाथि कार्वाही गरिएको हो ।
केही समयदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिवर्तन गरी ठुलो आवाजमा रातको समयमा सर्वसाधारण आम नागरिकलाई त्रसित हुने गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकलहरुलाई कारबाही गर्ने कार्यलाई निरन्तरता दिएको प्रहरी निरीक्षक राईले जानकारी दिए ।
स्वरुप परिवर्तन गरेर चलाउने मोडिफाई बाइकको आतंक भएपछि जिल्लाव्यापी कार्वाही अभियान चलाउनु परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए ।



