झापा, मंसिर ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी प्रक्रियामा अनियमितता, उमेर हेरफेर र गैरकानुनी शुल्क असुलीसम्बन्धी उजुरीको अनुसन्धानपछि विशेष अदालत काठमाडौँमा आज १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

राहदानी विभाग, त्रिपुरेश्वरबाट मागिएको कागजातको अध्ययनपछि २०७९ साउनदेखि असोजसम्म इलाका प्रशासन कार्यालय, गौरीगञ्ज झापाबाट जारी भएका केही राहदानीमा जन्म मिति हेरफेर गरी गैरकानुनी रूपमा राहदानी जारी गरिएको पाइएको हो।
अनुसन्धानका क्रममा राहदानी वाहक विनोद कुँवर, सीमान्त विश्वकर्मा, गोविन्द प्रसाद ढुङ्गेल र बलराम महतोको राहदानीमा उनीहरूको नेपाली नागरिकतामा उल्लेखित जन्म मितिभन्दा २ देखि ८ वर्षसम्म उमेर घटाइएको वा बढाइएको प्रमाण भेटिएको छ।
यसरी बदनियतपूर्ण रूपमा सरकारी कागजातमा हेरफेर गरी राहदानी जारी गर्ने कार्यमा तत्कालीन इलाका प्रशासन प्रमुख शाखा अधिकृत चूडामणि आपगाँई, नायब सुब्बा रविनकुमार राजवंशी, कम्प्युटर अपरेटर आकाश मगर, कार्यालय सहयोगी जीवनकुमार दाहाल प्रत्यक्ष संलग्न रहेको देखिएको छ।
त्यसैगरी, झापा जिल्ला प्रशासन कार्यालयमार्फत सन् २०१३ मा जारी विनोद कुँवर र बलराम महतोका राहदानीमा पनि उमेर हेरफेर गरी जारी गरिएको पाइएकाले तत्कालीन प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र केशवप्रसाद रिजाल समेत संलग्न रहेको भेटिएको छ। त्यस्तै राहदानी वाहक विनोद कुँवर, सीमान्त विश्वकर्मा, गोविन्द प्रसाद ढुङ्गेल र बलराम महतोलाई पनि सजाय मागदाबी गरिएको छ।
अनुसन्धानमा राहदानीका लागि उमेर घटाइदिने र बढाइदिने नाममा कर्मचारीहरूले अनलाइनमार्फत रकम असुलेको, कसैले प्रश्न गर्दा राहदानी ‘ब्लक’ गरिदिने धम्की समेत दिने गरेको तथ्य पनि खुलेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम कसूर ठहरिने प्रमाण मिलेपछि विशेष अदालतमा उनीहरू विरुद्ध कानूनअनुसारको सजाय माग्दै आरोपपत्र दायर गरिएको विशेष अदालतले जनाएको छ। यो मुद्दा हाल विशेष अदालतमा दर्ता भइसकेकोले अब कानुनी प्रक्रिया अघि बढ्नेछ।



