झापा, मंसिर ११ । गह्रुँगो कामलाई बल प्रयोग गरेर फत्ते गर्ने बेलामा जोर लगाके हैशा भन्ने गरिन्छ । यही शैलीमा विश्वकै पुरानो खेल डोरीतानलाई जोगाउन युनिता दवाडी नेतृत्वको टीमले जोर लगाके हैशा गरिरहेका छन् ।

लोप हुन लागेको डोरीतान खेललाई प्रवर्द्धन गर्न युनिताको नेतृत्वमा रहेको झापा जिल्ला डोरीतान संघ जोडतोडले लागिरहेको छ । ‘महिलाको नेतृत्वमा रहेको डोरीतान संघलाई पत्याउन खोजिरहेका छैनन् ’ युनिताले भनिन् ,‘ तर हामी पुरानो डोरीतान खेललाई जोगाएरै छाड्छौं । ’
नेपाल डोरीतान संघले नेपालका प्रदेशहरुमा प्रादेशिक कमिटी र देशभरिका जिल्लाहरुमा जिल्ला संघ गठन गर्दै ती जिल्ला संघहरुमार्फत यस खेलको प्रवर्द्धन गर्दै आएको छ। यसै क्रममा २०७९ सालमा झापा जिल्ला खेलकुद विकास समितिबाट पहिचान प्राप्त झापा जिल्ला डोरीतान संघको स्थापना भएको थियो । गठन भएको अर्को वर्ष युनिताको अध्यक्षतामा रहेको यस जिल्ला संघले २०८० कात्तिकमा जिल्लास्तरीय प्रथम डोरीतान आउटडोर च्याम्पियनसीप प्रतियोगिता आयोजना गरेको थियो ।

त्यसपछि २०८१ फागुनमा खेलकुद विकास बोर्ड कोशी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय डोरीतान प्रतियोगितामा १४ वटा जिल्लालाई पछि पार्दै झापा जिल्लाले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । झापा जिल्लाले टिम इभेन्टमा स्वर्ण पदक जितेको थियो ।


सोही झापा जिल्ला डोरीतान संघको आयोजनामा आज जिल्लास्तरीय दोस्रो डोरीतान आउटडोर च्याम्पियनसिप हुँदैछ ।हल्दीबारी गाउँपालिका–५ स्थित मोति आधारभूत विद्यालयको खेलमैदानमा प्रतियोगिता हुने भएको हो ।संघकी अध्यक्ष युनिता दवाडीका अनुसार प्रतियोगितामा तीन विभागीय टोली र १५ पालिकाका टोलीसहित १८ टिमले प्रतिस्पर्धा गर्नेछन्। खेल विहान ११ बजेदेखि सुरु भएर साँझ ५ बजे समापन गरिने बताइएको छ।

विजेता टोलीले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ।

प्रतियोगिता झापा जिल्ला डोरीतान संघ र हल्दीबारी जेसीजको संयुक्त आयोजनामा हुने भएको हो । राष्ट्रिय खेलकुद परिषद्, कोशी प्रदेश डोरीतान संघ र हल्दीबारी गाउँपालिका संरक्षकको भूमिकामा रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्