झापा,मंसिर ११ । सरकारले करको दायरा विस्तारमा तीव्रता दिएसँगै पछिल्ला वर्षहरूमा करदाताको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

आन्तरिक राजश्व विभागको पछिल्लो तथ्यांक अनुसार व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको कुल संख्या ७० लाख नाघेको छ ।
त्यस्तै, आय विवरण बुझाउने करदाताको संख्यामा पनि आन्तरिक राजश्व विभागको तथ्याङ्क अनुसार उत्साहजनक सुधार देखिएको छ।
विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ सम्ममा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या २१ लाख ४५ हजार ८२० पुगेको छ। आर्थिक वर्ष २०८०÷८१ मा १ लाख ५१ हजार ३७७ जना नयाँ करदाताले व्यावसायिक पान लिएका थिए भने आव २०८१÷८२ मा १ लाख १८ हजार १३८ जना थपिएका छन्।
त्यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या झन् ठुलो छ । हालसम्म ४९ लाख २० हजार ३८९ जनाले व्यक्तिगत पान लिएका छन्। आर्थिक वर्ष २०८०÷८१ मा ६ लाख १७ हजार ५३२ जनाले व्यक्तिगत पान लिएकोमा आव २०८१÷८२ मा यो संख्या बढेर ६ लाख ५३ हजार २४३ पुगेको छ ।
मूल्य अभिवृद्धि कर तर्फ पनि करदाताको सहभागिता विगतका वर्षको भन्दा बढेको छ । तथ्यांक अनुसार यस आर्थिक वर्षको अन्त्यसम्ममा ३ लाख ५९ हजार ६६० करदाता भ्याटको दायरामा समेटिएका छन्। आव २०८०÷८१ मा २६ हजार ५४० जना भ्याटमा दर्ता भएकोमा आव २०८१÷८२ मा २४ हजार ६४३ करदाता थपिएका छन् ।
यसैगरी, अन्तःशुल्क तर्फ आव २०८१÷८२ सम्ममा १ लाख ६१ हजार ७२४ करदातालाई इजाजतपत्र प्रदान तथा नवीकरण गरिएको छ, जुन अघिल्लो आव २०८०÷८१ मा १ लाख ३७ हजार २५९ रहेको थियो ।
आय कर विवरण बुझाउनेहरुको तथ्याङ्कले पछिल्लो समय कर सहभागितामा सकारात्मक सुधार देखिएको छ ।
आर्थिक वर्ष २०७९÷८० मा ११ लाख ३५ हजार २१७ जनाले आय विवरण बुझाएकोमा आव २०८०÷८१ मा यो संख्या बढेर १२ लाख ३५ हजार ८११ पुगेको थियो ।
आर्थिक वर्ष २०८१÷८२ मा आइपुग्दा आय विवरण बुझाउनेको संख्या १५ लाख २ हजार १२० पुगेको विभागले जनाएको छ। अग्रिम कर कट्टी विवरण तर्फ पनि आव २०८१÷८२ मा ५ लाख २७ हजार ६९३ विवरण प्राप्त भएका छन् ।
करदाताको संख्या बढे पनि मूल्य अभिवृद्धि करमा विवरण नबुझाउने (नन–फाइलर) को संख्या भने बढ्दो क्रममा देखिएको छ । तथ्यांक अनुसार २०७७ असारमा १२.११ प्रतिशत रहेको नन–फाइलरको संख्या २०८१ असारमा २७.९५ प्रतिशत पुगेको थियो भने २०८२ असार महिनाको तथ्यांकमा यो ह्वात्तै बढेर ४५.४९ प्रतिशत पुगेको देखाइएको छ ।
करदाताले स्वयं आफ्नो विवरण अद्यावधिक गर्न सक्ने प्रणाली लागू भएपछि लाखौं करदाताले विवरण अद्यावधिक गरेका छन्। यद्यपि, यो संख्या पछिल्ला वर्षमा घट्दो क्रममा छ ।
आर्थिक वर्ष २०७८÷७९ मा १० लाख बढीले विवरण अद्यावधिक गरेकोमा आव २०८१÷८२ मा १ लाख ३२ हजार ४०६ जनाले मात्र विवरण अद्यावधिक गरेका छन्।
आय विवरणको ‘¥यापिड भेरिफिकेसन’ मार्फत आव २०८१÷८२ मा १०,६४९ आय विवरणको परीक्षण गरी २९ करोड ९४ लाख ९७ हजार कर निर्धारण गरिएको छ । अघिल्लो आव २०८०÷८१ मा १०,३९४ विवरण परीक्षणबाट रु. ३७ करोड ६२ लाख ५६ हजार कर निर्धारण भएको थियो।



