झापा, मंसिर १२ । बाह्रदशी गाउँपालिका वडा नम्बर ५ स्थित घोडामारा आधारभूत विद्यालयमा स्थापना गरिएको सीता–भवानी खरेल अक्षय कोषबाट विद्यार्थीहरु पुरस्कृत भएका छन्।

हिजो आयोजित एक समारोहका बीच २०८१ सालको शैक्षिक सत्रबाट कक्षा ५, ६ र ७ बाट प्रथम हुने तथा कक्षा ८ बाट उत्कृष्ट नतिजा ल्याउने एकजना छात्र, एकजना छात्रा र एकजना सन्थाल समुदायबाट उत्कृष्ट नतिजा ल्याउने गरी जम्मा ६ जना विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो। उक्त समारोहमा कक्षा ५ बाट कृतिमा पौडेल, कक्षा ६ बाट विकास थापा, कक्षा ७ बाट खुसी दाहाल, कक्षा आठबाट सलिना चौहान, संसार भुजेल र सोनिया मुर्मुलाई जनही ३ हजार ४७० रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यदुराम उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वडा सदस्य जयप्रसाद तिम्सिना रहेका थिए। प्रधानाध्यापक कमल चम्लागाई सञ्चालक रहेको उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक डिल्लीराम खरेलले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका सदस्यहरू, समाजसेवी नरप्रसाद खरेल, गुरु घिमिरे, कमलप्रसाद अधिकारी, चेतन तिम्सिना, अभिभावक, शिक्षक एवं विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कविता तथा गजल प्रस्तुत गर्दै दुर्गा मावि बिर्तामोडका शिक्षक एवं अक्षयकोष दाता परिवार सदस्य लता खरेलले विद्यार्थीहरूको निमित्त मोटिभेसनल प्रवचन गरेकी थिइन्। कार्यक्रममा अक्षय कोष सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष तुलसीराम खरेल, यदुराम उप्रेतीलगायतको मन्तव्य रहेको थियो। सो कार्यक्रममा विद्यार्थीहरूका विविध गायन तथा नृत्य प्रस्तुतिहरू रहेका थिए।

२०७१ सालमा सो विद्यालयमा अक्षय कोषको स्थापना गरेर अप्ठ्यारो परिस्थितिमा पढिरहेका विद्यार्थीलाई उत्प्रेरित गर्न दाता भवानीप्रसाद खरेल र सीतादेवी खरेलले पुण्य कर्म गरेको प्रधानाध्यापक कमल चौलागाईले बताए। हाल उक्त अक्षय कोषको रकम रु २ लाख ५० हजार रहेको छ। उक्त कार्यक्रममा कक्षा आठबाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई मायाको चिनोसहित विदाई समेत गरिएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्