बिर्तामोड,मंसिर १६ । अनेरास्ववियुले मेची–महाकाली विद्यार्थी जागरण यात्रा शुरु गरेको छ ।

झापाबाट संगठनका केन्द्रीय अध्यक्ष दिपक धामीले अभियानको शुभारम्भ गरेका हुन् ।
अनेरास्ववियुको झण्डा विद्यार्थीहरुलाई हस्तान्तरण गर्दै मंगलवार अभियान शुभारम्भ भएको घोषणा गरिएको छ । अभियानमा प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

सोही कार्यक्रममा अनेरास्ववियु कोशी प्रदेशले पुरस्कार वितरण गरेको छ । ‘लागूऔषध मुक्त समाजः हाम्रो अभियान’ विषयक अनलाइन वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।

अनेरास्ववियु कोशी प्रदेश कमिटीद्वारा आयोजित खुला डिजिटल अनलाइन वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने तेह्रथुम छथरस्थित सरस्वती माविको कक्षा ९ मा अध्ययनरत विद्यार्थी तृप्ति भण्डारी, दोस्रो हुने संखुवासभा खाँदवारीस्थित सूर्य आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सदिक्षा तामाङ र तेस्रो हुने मोरङ सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचामा अध्ययनरत सुमन ढुङ्गानालाई नगद, प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो । उनीहरुलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको कोशीका अध्यक्ष नारायण पोखरेलले जानकारी दिए ।

यस्तै, सान्त्वना पुरस्कार कनकाईस्थित हरिकुल नमूना माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत प्रिन्शा तिम्सिना, धुलावारी माविको कक्षा ८ मा अध्ययनरत कृतिका शिवाकोटी र पब्लिक हाईस्कूल धरान १२ चतरालाइन कक्षा १० मा अध्ययनरत तमन्ना वान्तवा राईलाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय अध्यक्ष धामीले पुरस्कार वितरण गरेका हुन् ।

प्रतियोगितामा प्राडा गंगा अधिकारी, गोपाल काफ्ले र डा. कुमार सुवेदीले निर्णायकको भूमिका निभाएका थिए । उत्कृष्ट विद्यार्थीहरुको नामावली निर्णायक मण्डलका सदस्य काफ्लेले घोषणा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्