झापा, मंसिर १७ । मुलुकबाट वार्षिक २७ अर्ब रुपियाँ बराबरको हस्तकलाका सामान निर्यात भएको छ ।

स्थानीय सिप र कलाको प्रयोग गरी विभिन्न डिजाइनमा बनाइएका हस्तकलाका सामान अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको हो ।
व्यापार प्रवर्धन तथा निकासी केन्द्रका अनुसार आव २०८१-८२ मा २७ अर्ब रुपियाँ बराबरको हस्तकलाका सामान निर्यात भएको हो । अन्तर्राष्ट्रिय बजारमा माग बढ्दा हस्तकलाका सामानको निर्यात बढेको नेपाल हस्तकला महासङ्घले जनाएको छ ।
महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले अन्तर्राष्ट्रिय बजारसँगै पछिल्लो समय आन्तरिक बजारमा समेत हस्तकलाका सामानको खपत बढ्दै गएको जानकारी दिएका छन् । कोभिडपछि अन्तर्राष्ट्रिय बजारमा हस्तकलाका सामानको निर्यात बढ्दै गएको उनले जानकारी दिए ।

आन्तरिक बजारमा वार्षिक १० अर्ब रुपियाँ बराबरको हस्तकलाका सामान खपत हुने गरेको उनले जानकारी दिए । स्थानीय सिप र परम्परागत कलाको प्रयोग गरी बनाइएका हस्तकलाका सामानको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको निर्यात बढाएर व्यापारघाटा कम गर्न सकिने उनले जानकारी दिएका छन्् । हस्तकला उद्योग व्यवसायमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेको अनुमान छ ।

नेपालमा उत्पादित अल्लो, बाँसजन्य पदार्थ, पोतेका सामान, हाड, विभिन्न वन्यजन्तुका सिङ, सेरामिक, सुर्तीजन्य पदार्थ, स्फटिक, ढाका, फेल्ट, सिसा, धुप, छाला, धातुजन्य सामग्री, ढाका कपडा, चित्रकला, कागज, वनस्पतिका रेसा, चाँदी गरगहना, प्रस्तरकला, काष्ठकलाका सामान विदेश निर्यात हुन्छ ।

महासङ्घका अनुसार अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चीन, भारत लगायत ६० भन्दा बढी देशमा हस्तकलाका सामान निर्यात हुँदै आएको छ । नेपालको निर्यात क्षेत्रमा हस्तकला क्षेत्रको छ प्रतिशत योगदान रहेकाले आगामी दिनमा यसलाई बढाउन आवश्यक रहेको व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्