झापा, मंसिर १७ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकमा आक्रमण गर्ने १३ जना जेल चलान भएका छन् ।

विभिन्न मितिमा पक्राउ परेका उनीहरुलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । कारागार चलान हुनेहरुमा पाँचथर मिक्लाजुङ ५ बस्ने २१ वर्षीय साजन लुहागुन , इलाम चुलाचुली ३ बस्ने २२ वर्षीय नकुल अधिकारी , दमक ७ बस्ने २४ वर्षीय लोमस कटुवाल , दमक ७ बस्ने २० वर्षीय गौरव भुजेल , पाँचथर मिक्लाजुङ ३ बस्ने सुशिल फियाक , दमक ७ बस्ने १९ वर्षीय शिव मल्लिक , इलाम चुलाचुली २ बस्ने २२ वर्षीय दर्शन लिम्बू , गौरादह ३ घर भई हाल दमक ९ बस्ने १९ वर्षीय सुन्दर गिरी , गौरीगञ्ज वडा नं ३ बस्ने ४६ वर्षीय रमेश पासवान र सोही ठाउँका १९ वर्षीय सोनु पासवान रहेका छन् । उनीहरुलाई झापा जिल्ला अदालतले हिजो पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

यसअघि गत कात्तिक २७ गतेको आदेशले इलाम चुलाचुली ३ बस्ने १९ वर्षीय सुजल राई , दमक ९ बस्ने २६ वर्षीय अरुण रोका र दमक ९ बस्ने १९ वर्षीय गणेश शर्मा पुर्पक्षका लागि जेल चलान भएका थिए । त्यस्तै दमक ३ बस्ने १६ वर्षीय रियाज सिलवाल ,दमक ५ बस्ने १६ वर्षीय सायल राई , दमक ७ बस्ने १७ वर्षीय शाखिब शेख र दमक ३ बस्ने १७ वर्षीय आदित्य लिम्बू गरी चारजना नाबालकलाई अभिभावकको जिम्मा लगाइएको छ । त्यस्तै दमक ९ बस्ने ३४ वर्षीय सन्तबहादुर मोते र दमक ८ बस्ने ३६ वर्षीय उमेश थापा जनही १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । त्यस्तै दमक ३ बस्ने २१ वर्षीय केदार बस्नेत ३० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

जेनजी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयहरुमा आक्रमण गर्ने ४६ जना पक्राउ परेका छन् । त्यसमध्ये १३ जना पुर्पक्षका लागि जेल चलान भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनले चारजना नाबालकलाई अभिभावकको जिम्मा लगाइएको , तीनजना धरौटीमा रिहा भएको , ७ जना हाजिरी जमानीमा छुटेको र बाँकीमाथि अनुसन्धान भइरहेको जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीका घटनामा संलग्नमध्ये झापा, मोरङ र सुनसरीका ८९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा झापाबाट ४६, मोरङबाट ३९ र सुनसरीबाट ४ जना रहेका छन्।
मोरङमा जेनजी आन्दोलनका नाममा भदौ २४ गते विभिन्न स्थानमा भएको अराजक गतिविधिमा संलग्न ठानिएका ३९ जनालाई दुई चरणमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।

प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार पहिलो चरणमा २१, दोस्रो चरणमा १० र इलाका प्रहरी कार्यालय रंगेली क्षेत्रमा तोडफोडमा संलग्न थप ८ जनालाई विशेष अपरेसनमार्फत नियन्त्रणमा लिइएको हो ।
सामाजिक सञ्जालमा भाइरल भएका भिडियो र फोटोका आधारमा पहिचान गरेर पक्राउ प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सुनसरीमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेवेले जानकारी दिए ।
उनीहरूलाई इटहरी क्षेत्रमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्