तुलसीप्रसाद भट्टराई

अध्ययनशील बन्नु, नयाँ र राम्रा पुस्तकहरू केलाउनु मेरो जीवनको सोख हो । हरेक पटक मलाई पुस्तक उपलब्ध गराएर साथ दिने प्रीय भाइ केशव मैनालीलाई साधुवाद ! शनिश्चरे रोड बिर्तामोडको इशा बुक स्टेसनरीमा निस्कन्छु केशवजीसँगको भेटमा साहित्यिक गतिविधि, सिर्जनात्मक क्रियाकलाप र प्रकाशित नयाँनयाँ पुस्तकबारे कुराकानी हुन्छ । उहाँले सधैँ र सबैलाई पठन संस्कृति प्रति प्रेरित गर्नुहुन्छ । आफू ब्यापारी भएर मात्र होइन, कसरी साहित्य र कलालाई उजागर गर्न सकिन्छ, समुदायसम्म सिर्जनाहरूलाई कसरी सम्प्रेषण गर्न सकिन्छ भन्ने कुरामा उहाँको ध्यान केन्द्रित भएको पाइन्छ । यस कार्यको लागि केशवजीलाई हार्दिक सम्मान गर्छु ।
झण्डै पाँचसय पेज भएको पुस्तक पसलबाट निकालेर “लु यो पढ्नुपर्ने भयो” भन्दै दिनुभयो । हेरेँ निकै मोटो पुस्तक छ पढ्न पो अलिक समय लाग्छ कि भनेँ । “सायद नलाग्नुपर्ने” छोटोमा जवाफमा दिनुभयो । जसो होला भन्ने सोचेर बोकेँ “के खोज्छस् काना आँखो” भने झैँ, पुस्तक पाउँदा मेरो मन फुरुङ्ग नहुने कुरै भएन ।
अन्तर आत्माको भावनात्मक संवेग बुझाउने शब्द “प्रेम” र खुल्ला आकाश अनि सङ्लो सागरको विशाल शरीरमा देखिने “नीलो ” रङसँग जोडेर नाम जुराइएको उपन्यास हो “नीलो प्रेम”। नीलो छाताको ओतमा एक प्रेमिल जोडी बसेको आवरण चित्र हेर्दै आकर्षक देखिएको छ पुस्तक । इन्डिगो इन्क प्रालिले २०८१ चैतमा प्रकाशन गरेको यो पुस्तक ६ महिना नबित्दै पाँचौँ संस्करणसम्म निस्कन सफल हुनुले नै पुस्तकको महत्व र चर्चालाई दर्शाउँछ ।
काभ्रेपलाञ्चोक नाला काभ्रेमा पदार्पण भएका कृतिकार पुरुषोत्तम बजगाईँले कोलम्बिया विश्वविद्यालयबाट कम्युटर साइन्स विषयको शिक्षा हाँसिल गरेका हुन् । बाहिरी देशको बसाइ र फरक विषयको अध्ययन भएर पनि नेपाली भाषा साहित्यमा गहकिलो सिर्जना पस्कनु सक्नु लेखकको अद्भुत कला आफैँमा एउटा सुन्दर पक्ष हो ।
अहिलेको समयका किशोर किशोरीहरू बिचको प्रेम भाव, सामाजिक परिवेश, पारिवारिक सम्बन्ध, पढाइलेखाइ, भविष्य प्रतिको चासो र व्यवहारिक पक्षहरूलाई कथा वस्तु बनाएर लेखिएको पुस्तक “निरन्तर बग्दछ इन्द्रावती“ भने झैँ सललल्ल बगेको छ । कहिल्यै छाता नबिर्सने आकाश के सी र आफ्नै झोलामा राखेको छाता पनि बिर्सने वर्षा रायमाझीको अनौठो भेटको कहानी छाताबाटै सुरु भएको छ कथा । पुलिस स्कुलको कडा अनुशासन भित्र रहेर एउटै विषय पढ्ने र सँगै प्रयोगात्मक कक्षा गर्ने जोडी बिस्तारै प्रेम प्रसङ्गमा गाँसिएको कथा पुस्तकमा आएको छ । यो कथा पढ्दै गर्दा पाठक आफैँ त्यहाँका क्रिया प्रतिक्रियामा संलग्न भएको अनुभुत हुनेगरी तानिन्छ । यो नै लेखनको सफलता र सबल पक्ष हो ।
कथामा अहिलेको प्रविधिलाई बेस्मार प्रयोग गरिएको छ । यातायात, सञ्चार र सामाजिक सञ्जालको भरपुर उपभोग गरिएको छ । आधुनिक र प्राविधिक विषय पढाइको साथमा अतिरिक्त क्रियाकलापको उठानले अहिलेको समयसँग साँच्चै सान्दर्भिक बनाएको छ । खानेकुरा, लगाउने कुरा व्यक्तिगत रुचि र आचरणका कुराको प्रयोगमा खुलेर तुलना गरिएको छ । आत्मीयता र प्रेमिल भावनाले कतिपय रुचि परिवर्तन भएको कुरा आउँदा, प्रेमसँग गाँसिएको त्याग र समर्पणको बडो रोमाञ्चकारी भाव प्रकट भएको छ । प्रेम के हो, कसरी गरिन्छ, प्रेमको सबल पक्ष के हो , दुर्बल पक्ष के हो, प्रेम किन हुन्छ र कसरी जीवन्त राख्न सकिन्छ ? भन्ने तथ्य कथामा साँच्चै मजाले केलाइएको छ । प्रेममा धोका हुँदाको अवस्था कस्तो बन्छ, त्यसले उत्पन्न गर्ने भयावह परिस्थितिलाई पनि दर्शाउन खोजिएको छ र सहज जीवनतिर फर्किने बाटो पनि निकालिएको छ कथामा । अत्यन्तै चोटिला रेला, ठट्टा र मजाकले साँच्चै रमाइलो पारिएको छ संवादलाई ।
सत्चरित्रता, लगनशीलता, इमानदारीता, कर्तव्यपरायणता, अनुशासन र नैतिकताको पाठ मजाले सिकाइएको छ । पारिवारिक पृष्ठभूमि भित्र आमाबुबा, हजुरबुबा हजुरआमा, दाजुभाइ दिदीबहिनी बिचको नाता र आपसी समझदारीका विषय गहन ढङ्गले उठान गरिएको छ । समुदाय र सामाजिक परिवेशसँग मजाले घुलमिल भएको छ कथा । हरेक समस्याको समाधान खोजिएको छ, सबै ठाउँमा विषय वस्तुलाई मार्मिक तरिकाले निधान गरिएको छ ।
हाम्रा मूल्यमान्यताहरू, संस्कार संस्कृति, चाडबाड, रीतिरिवाज, परम्परा र धार्मिक आस्था हरेक प्रसङ्गसँग जोडेर कथामा आत्मिक तरिकामा उठाइएको छ ।
नेपाली उत्पादन, यहाँको माटो, प्राकृतिक सुन्दरता विभिन्न ठाउँहरूको परिदृश्यलाई नियालेर अत्यन्त राम्रो वर्णन गरिएको छ । पढाइको क्रममा अमेरिकामा गर्नुपरेको दुःख त्यहाँको भोगाइ र नेपालमा रहँदाको सुखानुभूति मजाले दाँजिएको छ । कथामा लेखकले विदेशी मोहभन्दा आफ्नै जन्मभूमिलाई महत्व दिएको पाइन्छ । छोटा सरल वाक्यको प्रयोग मीठो संवाद र बान्की मिलेको संरचनाले प्रफुल्ल बनाएको छ । घुर्की र स्वीकार, तर्क र समर्थन, मोह र त्याग जस्ता संवेगात्मक गुणहरू पनि प्रशस्त देखाइएको छ । कथाले कतै रिस उठाउँछ, कतै भावुक बनाउँछ, कतै खट्पटी पार्छ त कतै रमाइलो पारेको छ । कुनैबेला आँसुको भेल बगाउँछ । कुनैबेला खित्का छोडेर हँसाउँछ । यसरी पढिरहँदा विषय प्रसङ्ग अनुसार पाठकमा हुटहुटी जगाउनु, आत्मानुभूति पैदा हुनु, भनेको नै कथाको जिउँदो पक्ष हो ।
मैले अहिलेसम्म पढेका थुप्रै उपन्यासहरूको दाँजोमा यो पुस्तक निकै मापाको छ मीठो र आत्मीय छ । पहिलो पटकको लेखाइमा नै यो उचाइ चुम्न सफल भएकोमा लेखकलाई हार्दिक बधाई, अझ उच्च सफलताको अनगिन्ती शुभकामना ! धन्यवाद



