झापा,मंसिर १८ । अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्नुभन्दा एक हप्ता अगाडि नै टेक कम्पनी मेटाले आफ्ना इन्स्टाग्राम, फेसबुक र थ्रेड्स प्लेटफर्मबाट उनीहरूलाई हटाउन सुरु गरेको छ।

मेटाले गत महिना नै १३ देखि १५ वर्ष उमेर समूहका प्रयोगकर्तालाई डिसेम्बर ४ देखि उनीहरूको खाता बन्द गर्न थालिने सूचना दिएको थियो। यसबाट अनुमानित १ लाख ५० हजार फेसबुक र ३ लाख ५० हजार इन्स्टाग्राम खाता प्रभावित हुनेछन्।
अस्ट्रेलियाको यो विश्वकै पहिलो सामाजिक सञ्जाल प्रतिबन्ध डिसेम्बर १० देखि सुरु हुँदैछ। यस नियमको पालना गर्न ‘उचित कदम चाल्न’ असफल हुने कम्पनीहरूलाई ४९.५ मिलियन अस्ट्रेलियाली डलरसम्म जरिवाना हुन सक्छ।
मेटाले कानुनको पालना गर्न प्रतिबद्ध रहेको बताए पनि कम्पनीले सरकारलाई एप स्टोरहरूलाई प्रयोगकर्ताको उमेर प्रमाणित गर्न र १६ वर्षमुनिका लागि अभिभावकको स्वीकृति माग्न अनुरोध गर्न सुझाव दिएको छ। उमेर गलत पहिचान गरिएका किशोरकिशोरीहरूले आफ्नो उमेर प्रमाणित गर्न ‘भिडियो सेल्फी’, लाइसेन्स वा सरकारी परिचयपत्र पेस गरेर समीक्षाका लागि अनुरोध गर्न सक्नेछन्।
सरकारले यो प्रतिबन्ध बालबालिकालाई सामाजिक सञ्जालका बेफाइदाबाट जोगाउन ल्याएको बताएको छ । तर आलोचकहरूले यसले विशेष समूहलाई एक्लो पार्न सक्ने र बालबालिकालाई कम नियमन भएका इन्टरनेटका कुनाहरूमा धकेल्न सक्ने बताएका छन्।



