झापा, मंसिर १८ । झापाको बिर्तामोडबाट प्रहरीले ठूलो मात्रामा राजश्व छलीको सामान बरामद गरेको छ ।

हिजो दिउँसो अन्दाजी २ बजे बिर्तामोड–९ स्थित धौलापुलमा प्रहरीले तीनवटा गाडीमा अवैध सामान बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक प्रविण श्रेष्ठको नेतृत्वको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिर्तामोडबाट भद्रपुरतर्फ जाँदै गरेको मे १ च ६८९२, प्र १–०१–००१ च ७५२४ र मे १ च ४०४५ नम्बरको गाडीमा ठूलो मात्रामा राजश्व छली गरि लैजाँदै गरेको सामान फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

ती गाडीबाट प्रहरीले बच्चाको डाइपर ४१ काटुन, इन्चान्टर लेखिएको कस्मेटिक सामान १९ काटुन, चुलबुल लेखिएको रक्सी २ सय काटुन, गोर्खा बियर १५० काटुन, ओरियो विस्कुट १६ काटुन र सेलो, विकुल लेखिएको खानेतेल ८० काटुन बरामद गरेको छ ।

ती सामानसँगै गाडी चालकहरु अर्जुनधारा नगरपालिका ११ बस्ने ४३ वर्षीय दिलिप खड्का, अर्जुनधारा ५ बस्ने ५४ वर्षीय राजाराम खड्का र भद्रपुर १ बस्ने ४७ वर्षीय उदेन राईलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि राजश्व कार्यालय इटहरीमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्