झापा, मंसिर १९ । झापा अर्जुनधाराको शनिश्चरे बजारमा भएको आगलागीबाट करिव ९० लाखको क्षति भएको छ ।

गएराति ८.३५ बजे अर्जुनधारा वडा न.८ रातोपुल बस्ने सन्तोष साहको २ तले पक्की घरको भुइँतलामा रहेको दुईवटा सटरमा रहेको हार्डवेयर पसलमा बिद्युत सर्ट भई आगलागी भएको थियो ।
उक्त आगलागीबाट पसलभित्र रहेका हार्डवेयर सामग्री ( सिमेन्टका बोरा, टिनको बण्डल, कलर पेन्ट, पुटिङ सिमेन्ट, झ्याल ढोका तथा भर्याङमा प्रयोग हुने आल्मुनियम, प्लाई, तथा विविध सामग्री) अन्दाजी ९० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट डीएसपी बिजय श्रेष्ठको कमाण्डमा र प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली २५ जना खटिएर प्रहरी, स्थानीयबासी, बिर्तामोड ,भद्रपुर र मेचीनगरको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।



