झापा,मंसिर १९ । प्रधानमन्त्री सुशीला कार्कीसँग शुक्रबार हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नेतृत्वको टोलीले भेट गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सुनारको टोलीले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन प्रधानमन्त्री कार्कीसँग आग्रह गरेको हो ।
अध्यक्ष सुनारले समानुपातिक निर्वाचन प्रणालीतर्फको विद्यमान व्यवस्थाले खस–आर्य समुदायलाई नै पहिलो प्राथमिकतामा राखेका कारण दलित समुदायको उचित प्रतिनिधित्व हुन नसकेको बताए ।
भेटका क्रममा अध्यक्ष सुनारले यसअघि प्रधानमन्त्रीले निजी कारणले आलोचना खेप्नुपरेको भन्दै क्षमा याचना गरे । साथै, यो उमेरमा आएर विषम परिस्थितिमा मुलुक सम्हाल्न आएकोमा प्रधानमन्त्री कार्कीप्रति आभार पनि व्यक्त गरे ।
जवाफमा प्रधानमन्त्री कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्ने बताइन् । समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशव्यापी रूपमा जनजागरण ल्याउन पनि उनले सुझाव दिइन् ।
प्रधानमन्त्री कार्कीले वर्तमान सरकारले पाएको कार्यादेशभित्र रहेर दलित तथा उत्पीडित समुदायको अधिकतम प्रतिनिधित्व कसरी हुन सक्छ भनेर आफूले पनि प्रयास गर्ने आश्वासन दिइन् ।



