झापा, मंसिर २० । राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाई फेरि भारत गएका छन् ।

एक सातामा उनी दोस्रो पटक हिजो भारत गएका हुन् । मंसिर १५ गते भारत गएका उनी दुई दिनपछि नेपाल फर्किएका थिए । त्यसको दुई दिनपछि हिजो दिउँसो २ः५५ बजे बिर्तामोड –५ स्थित निजी निवासबाट प्रदेश–१– ०१ ००१ च ९१९५ नं. को पूर्वाञ्चल क्यान्सर अस्पताल लेखिएको सेतो रंगको स्कोरपियोमा काँकडभिट्टा नाका हुँदै उनी भारत गएको सुरक्षा स्रोतले जनाएको छ ।
असोज महिनायता उनी चौथो पटक भारत गएका हुन् । प्रसाईं क्यान्सर उपचारसँग सम्बन्धित फलोअपका लागि दिल्ली जाने गरेका छन् । भारत सरकारले प्रसाईंको राजनीतिक अभियानबाट आफूलाई स्पष्ट रूपमा टाढा राखेको जानकारी गराइसकेको छ । भारतले प्रसाईलाई आफ्नो अभियानमा भारतीय समर्थन रहेको भ्रामक दाबी नगर्न चेतावनी दिएको थियो ।
भारत र भारतीय नेताप्रति भरोसा गरेका प्रसाईं चैत १५ को आन्दोलनपछि भारतीय भूमिबाटै पक्राउ परेका थिए ।


