झापा, मंसिर २० । चार दिनअघि निर्माणाधिन एसियन हाइवेको धरमपुर चोकमा बसले खाल्डोमा उफार्दा बसका दुईजना यात्रु घाइते भए ।

दिउँसो १ः४५ बजे शिवसताक्षी वडा न.१ धरमपुर चोकस्थित पूर्व–पश्चिम राजमार्गमा बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको को १ ख ६१६५ न.को बस तिब्र गतिका कारण निर्माणाधिन बाटोको खाल्डोमा परी उफार्दा बसमा सवार भारत जलपाईगुडी बस्ने ४९ वर्षीय डम्बर सापकोटा र सोही ठाउँ बस्ने ६० वर्षीया पुर्नी साहा घाइते भएका हुन् । ढाडमा चोट लागेका सापकोटाको कम्मरभन्दा मुनिको भाग चल्न छोड्यो भने साहाको ढाडको भित्री भागमा चोट लाग्यो । दुवै घाइतेलाई उपचारका लागि नयाँ आम्दा अस्पताल दमक पठाइएकोमा सापकोटालाई थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर रेफर गरियो । प्रहरीले बस र बस चालक मोरङ सुन्दरहरैचा १२ बस्ने ४३ वर्षीय चन्द्रप्रसाद न्यौपानेलाई नियन्त्रणमा लियो ।
निर्माणाधिन एसियन हाइवेमा यात्रा गर्दा अहिले भोग्नु परिरहेको यो एउटा उदाहरण मात्र हो । सबै यात्रुहरु यस्तै दुख कष्ट बेहोर्दै यात्रा गर्न बाध्य छन् । एसियन हाइवेमा यतिबेला यात्रा गर्नु भनेको जोखिम र कष्ट मोल्नु हो ।
निर्माणाधिन एसियन हाइवेमा दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । जोखिमपूर्ण बाटोका कारण दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले बताए । सुरुङ्गादेखि पश्चिम र धरमपुर क्षेत्रमा रहेका खाल्डाखुल्डीले यातायात आवागमनमा कठिनाई भइरहेको छ । झन् दुई पांग्रे सवारी साधनलाई हिड्नै गाह्रो भइरहेको एक यात्रुले बताए ।
बाटो भत्काएर सुस्त गतिमा निर्माण गर्दा एसियन हाइवेको काँकडभिट्टा– लौकही सडकको पूर्वी खण्डभरि नै समस्या रहेको छ । चारपानेमा ओभरपास निर्माण गर्न थालिएको ठाउँमा सवारी साधनको जाम हुने गरेको ट्राफिक प्रहरीले बताएका छन् ।
तीन वर्षे म्याद पाएको ठेकेदार कम्पनीले एक वर्ष १० महिना गुजार्दा एसियन हाइवेको काँकडभिट्टा– लौकही सडकको पूर्वी खण्डको काम एक चौथाई पनि पूरा गर्न सकेको छैन ।
काँकडभिट्टादेखि केर्खा सितापुरीसम्मको ४५ किलोमिटर सडक एभ्रास्कोन– कालिका जे.भी.ले १० अर्ब ६ करोड रुपैयाँमा ठेक्का लिएका हुन् । उनीहरुले २०८० माघ १९ गतेदेखि काम शुरु गरेका थिए । पहिलो प्याकेजअन्तर्गत सडकको ठेक्का लगाइएको हो भने चौथो प्याकेजअन्तर्गत ३०० मिटरभन्दा लामा तीनवटा पुलहरु निन्दा , बिरिङ र कन्काईको ठेक्का लगाइएको छ । ५ अर्ब ९७ करोड रुपैयाँमा कोभेक–क्रेजसी–टुन्डी जेभीले ती तीनवटा पुलको ठेक्का पाएका हुन् । दुवै ठेक्काको संझौता मिति २०८० कात्तिक २ गते र निर्माण सम्पन्न गर्नुपर्ने मिति कार्य प्रारम्भ मितिबाट ३ वर्षभित्र रहेको छ ।



