झापा, मंसिर २१ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट फरार भएका एकजना थुनुवा पक्राउ परेका छन् ।

कनकाई नगरपालिका २ बस्ने २६ वर्षीय अर्जुन विश्वकर्मालाई हिजो बिहान ९ः४५ बजे इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायव निरीक्षक सुबास ढुंगानाको कमाण्डमा खटिएको टोलीले घरबाट नियन्त्रणमा लिएको हो ।
अभद्र व्यबहार मुद्धामा उनी पक्राउ परेका थिए । थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याइएको छ ।
विश्वकर्मासंगै झापाका प्रहरी कार्यालयहरुबाट भागेका २१ जना थुनुवा पक्राउ परेको प्रहरीले जनाएको छ ।
भदौ २४ गते भएको आन्दोलनमा आन्दोलनकारीहरुले झापामा गम्भीर , जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भइ अनुसन्धानमा रहेका ९२ जना थुनुवा भगाएका थिए । त्यसमध्ये २१ जना पक्राउ परेको र फरार रहेका ७१जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, बिर्तामोडबाट ३६ जना र झिलझिलेबाट ५ जना गरि ९२ जना थुनुवाहरुलाई भगाइएको थियो ।



