झापा,मंसिर २१ । जेनजी आन्दोलनका क्रममा अदालतमा भएको आगजनीका कारण मिसिल जलेका र सक्कल अभिलेख नभेटिएका मुद्दाको पूर्णपाठ तयार गर्दा फैसलाको अन्तिममा नष्ट भएको व्यहोरा उल्लेख गर्न सुरु गरिएको छ ।

गत भदौ २४ मा अदालमा आगजनीसँगै मुद्दाका मिसिल जलेपछि त्यस्तो मुद्दाको फैसलाको पूर्णपाठ तयार गर्दा सक्कल अभिलेख नभेटिएको जानकारीसहित धमाधम फैसला लेखन कार्य भइरहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए ।
‘फैसला लेखन बाँकी रहेका मुद्दा आगजनी भई नष्ट भएको हकमा इजलास अधिकृतले श्रीमानहरुलाई इमेलमा पठाएको कागजात, तथ्य प्रमाणलाई हेरेर फैसला लेख्ने काम भइरहेको छ,’ उनले भने, ‘सक्कल मिसिल नभएकाले ८ देखि १० पानाको फैसलाको पूर्णपाठ लेख्ने काम भइरहेको छ । साथै अन्तिममा फैसलाको पूर्णपाठ तयार गर्दा मुद्दाको सक्कल मिसिल नभएको उल्लेख गरिनेछ ।’ सर्वोच्चमा संवैधानिक इजलास, मुद्दा फाँट, अभियान फाँट, रिट शाखा लगायतमा चालु मिसिल पनि नष्ट भएका थिए ।
सर्वोच्च अदालतले फैसला लेखन बाँकी रहेका नष्ट भएका मिसिलहरुको हकमा के गर्ने भन्ने विषयमा विशेष परिस्थितिका कारण नष्ट भएको मिसिल कागजात प्राप्ति र प्रमाणीकरण निर्देशिकाको व्यवस्था गरेको छ । सर्वोच्चको फुलकोर्ट बैठकले तयार बनाएको, त्यस्तो निर्देशिका अनुसार अदालतले धमाधम फैसलाको अन्तिममा दृष्टव्य खण्डमा मिसिल जलेको र प्राप्त टिपोट र तथ्यको आधारमा फैसला तयार पारिएको उल्लेख गरेको छ ।
सर्वोच्च अदालतले हालै ट्रेडमार्क विवादसम्बन्धी इटालीको एक कम्पनीले नेपाली कम्पनीलाई विपक्षी बनाई दायर गरेको मुद्दाको फैसलामा त्यस्तो विवरण समावेश गरेको छ । फैसलाको द्रष्टव्य खण्डमा मिसिल जलेको र प्राप्त टिपोट तथा तथ्यका आधारमा फैसला लेखिएको जनाइएको छ ।
फैसलाको पूर्णपाठको द्रष्टव्य खण्डमा लेखिएको छ, ‘प्रस्तुत फैसलाको पूर्णपाठ तयार नहुँदै मिति २०८२-०५-२४ गते यस अदालतमा भएको आगजनी, तोडफोड र लुटपाटका कारण यस मुद्दाको सक्कल मिसिल नभेटिएको हुँदा इजलासबाट मिसिल अध्ययन भई एवं इजलास अधिकृतबाट सोअघि मिसिल हेरी तयार गरी न्यायाधीशसमक्ष पठाएको टिपोट तथा मुद्दा व्यवस्थापन प्रणालीमार्फत निकालिएको मुद्दाको स्थिति समेतका आधारमा यो फैसला तयार गरिएको ।‘
सर्वोच्च प्रशासनका अनुसार भदौ २४ गतेसम्म फैसला भई पूर्णपाठ लेख्न बाँकी रहेका ३ हजार ६ सय ८७ थान मिसिल नष्ट भएको जनाएको छ । फैसला भई पूर्णपाठ लेख्न बाँकी रहेका मुद्दामा बाल यौन दुराचार मुद्दामा दोषी ठहर भएका राष्ट्रसंघका पूर्वउच्च कर्मचारी पिटर जोन डाल्गसिसको वन्दीप्रत्यक्षीकरण रिटदेखि ओम अस्पताल एण्ड रिसर्च सेन्टरविरुद्ध क्षतिपूर्ति मुद्दासम्म छन् । त्यस्तै अधिवक्ता अनन्तराज लुईंटेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्समेतलाई विपक्षी बनाएर दायर गरेको रिट २०८१ असोज १० गते रिट खारेज भएपनि निर्देशनात्मक आदेश जारी भएको थियो । फैसला लेखनकै क्रममा रहेका बेलामा मिसिल नष्ट भएको थियो ।
कर छली, मूल्य अभिवृद्धि कर, भ्रष्टाचार, अदालतको अवहेलना, कर्तव्य ज्यान, जर्बजस्ती करणी, लागुऔषध, सरकारी सम्पत्ति हिनामिना लगायत मुद्दाहरु फैसला भई पूर्णपाठ लेख्न बाँकी छ । हाल मुद्दामा भएको टिपोट, इजलास अधिकृतले मेलमार्फत पठाएको मस्यौदा हेरेर फैसला लेखन कार्य भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्