झापा, मंसिर २१ । मोरङको बेलबारी नगरपालिका–२ मा भतिजी बुहारीले खानामा विष मिसाएर खुवाउँदा ७७ वर्षीया सासू इन्द्रमाया राईको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विष मिसिएको भात खाँदा ससुरा ७० वर्षीय भक्तबहादुर राई गम्भीर घाइते छन् ।


घरमै खानामा विष मिसाइएपछि उनीहरू शनिबार बेहोस अवस्थामा फेला परेका थिए। स्थानीयले दिउँसो करिब ३ बजे भक्तबहादुरलाई घरनजिकैको खोल्सीमा अचेत फेला पारेका थिए। उनलाई घर पुर्‍याउँदा इन्द्रमाया पनि आँगनमै लडेर बेहोस अवस्थामा भेटिएकी थिइन्। घरको आँगनमा तीनवटा कुखुरा मरेको अवस्थामा भेटिएपछि विष खुवाइएको पुष्टि भएको प्रहरीले दाबी गरेको छ ।

उनीहरूलाई तत्काल उपचारका लागि नोबेल मेडिकल कलेज लगिएको थियो। कलेजमा उपचारका क्रममा शनिबार राति इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले बताए। भक्तबहादुरको गम्भीर अवस्थामा उपचार भैरहेको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भतिजी बुहारी ३२ वर्षीया सुनिता कार्कीलाई पक्राउ गरेको छ।प्रहरीका अनुसार उनले खानामा विष मिसाएको स्वीकार गरेकी छन् । ’कार्कीले विष खुवाएपछि बट्टा अँगेनामा डढाएको बताएकी छन्,’ प्रहरी स्रोतले भन्यो, ’हामीले जलेको विषको बट्टा पनि बरामद गरिसकेका छौं।’

पारिवारिक विवादका कारण कार्कीले राई दम्पतीलाई खानामा विष मिलाएको प्रहरीको भनाइ छ। कार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्