झापा,मंसिर २२ । स्वदेशमा रोजगारीको अवसर नपाएर दैनिक औसतमा दुई हजार २२३ युवा रोजगारीको खोजीमा श्रम स्वीकृति लिएर बिदेसिन्छन् ।

अध्ययन वा भ्रमण भिसामा विदेश जाने र भारत जानेको संख्या श्रम स्वीकृति लिएर जानेकै हाराहारीमा छ । देशभित्रको विकासनिर्माणका लागि भने जनशक्ति अभाव हुँदा विदेशी श्रमिकले भरथेग गर्नुपर्ने अवस्था बढ्दै गएको छ ।
देशभर निर्माणाधीन सडक, पुल, जलविद्युत्, सरकारी भवन, व्यक्तिगत घर निर्माण तथा पुनर्निर्माणमा काम गर्ने गरी विदेशी जनशक्ति नेपाल आउने गरेको सरोकारवाला बताउँछन् । नेपालको श्रम सर्वेक्षण (लेबर सर्भे) प्रतिवेदन, २०१८ अनुसार नेपालको श्रम बजारमा ७० लाख श्रमिक छन् । सन् २०१८ यता श्रम सर्वेक्षण भएको छैन तथापि यस्तो संख्या अरू बढेको सरोकारवाला बताउँछन् ।
श्रम बजारमा हरेक वर्ष पाँच लाखको हाराहारीमा श्रमिक थपिने गरेको छ तर गत आर्थिक वर्ष २०८१-८२ आठ लाख ३९ हजार २६६ जना श्रम स्वीकृति लिएर विदेश गएको तथ्याङ्क हेर्दा श्रम बजारमा श्रमिक पनि बढेको स्पष्ट हुन्छ । नेपाल निर्माण व्यवसायी महासङ्घका अनुसार हाल नेपालमा पाँच लाखभन्दा बढी भारतीय तथा विदेशी श्रमिक नियमित काम गर्ने रहेको अनुमान छ ।
निर्माण व्यवसायीले उक्त क्षेत्रमा श्रमिकको अभाव बढ्दै गएको गुनासो गर्दै आएका छन् । विशेष गरी निर्माण क्षेत्रमा दक्ष जनशक्तिको अभाव अझै खट्किएको भोगाइ व्यवसायीको छ । जसले गर्दा भारतीय तथा बङ्गलादेशका श्रमिकलाई चर्को पारिश्रमिक दिएर ल्याउनुपर्ने अवस्था छ । निर्माण क्षेत्रमा काम गर्ने अधिकांश भारतीय छन् ।
महासङ्घका अध्यक्ष रवि सिंहका अनुसार नेपालको निर्माण हुने सिजनमा २५ लाख श्रमिकको माग रहेकोमा ४५ प्रतिशत भारतीय श्रमिक रहेका छन् । भारतीय श्रमिकमा पनि नियमित काम गर्ने पाँच लाख र सिजनमा आउने सात-आठ लाखभन्दा बढी हुन्छन् । बाँकी आन्तरिक श्रमिक छन् तर निरन्तरता दिने आन्तरिक श्रमिक भने असाध्यै कम रहेको अनुभव अध्यक्ष सिंहको छ ।
उनका अनुसार नेपाली श्रमिक निर्माणको काम गर्न थोरै पारिश्रमिकमा वैदेशिक रोजगारीमा खाडी र मलेसिया जाने गरेको तर त्यहाँ कमाउनेभन्दा बढी पारिश्रमिक दिँदासमेत ती श्रमिकलाई यहाँ रोक्न सकिएको छैन ।
निर्माण क्षेत्रमा कार्यरत दक्ष श्रमिकले मासिक न्यूनतम ५० हजारदेखि दुई लाख रुपियाँसम्म पारिश्रमिक पाउने गरेका छन् । त्यो पारिश्रमिक लिने अधिकांश भारतीय रहेका छन् । महासङ्घका अध्यक्ष सिंहले सिप हुनेका लागि निर्माण क्षेत्रमा राम्रो पारिश्रमिक भएको तर नेपाली श्रमिक सिप सिकेर काम गर्न नचाहने बताए । उनका अनुसार बिनालगानी नेपालमा निर्माण क्षेत्रमा भर्खर प्रवेश गरेको अदक्ष श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपियाँ छ । मासिक ३० हजार कमाउन तिनै श्रमिक दुईदेखि तीन लाख रुपियाँ खर्चेर विदेश जाने गरेका छन् ।
एक दशकअघिसम्म २० प्रतिशत मात्रै भारत तथा अन्य देशबाट श्रमिक आउने गरेकामा पछिल्ला वर्षमा मिस्त्रीदेखि माथिल्लो काममा भारतीय श्रमिककै भर पर्नु परेको निर्माण अध्यक्ष सिंहको भनाइ छ ।



