झापा,मंसिर २४ । भदौ महिनामा भएको जेन–जी आन्दोलन र कात्तिकमा भएको अविरल वर्षा पश्चात गएको बाढी पहिरोको विध्वंसले सुस्ताएको फालेलुङका उच्च पहाडी क्षेत्रमा पर्यटकको चहल पहल बढेको छ ।

समुद्री सतहदेखि तीन हजार पाँचसय मिटर भन्दा उचाईमा रहेका तीनसिमाना, फालौट, चारराते, इलाम पाँचथरको सिमावर्ती सन्दकपुर र थोकुम लगायतका क्षेत्रमा आन्तरिकसँगै बाहृय पर्यटकको चहल पहल बढेको हो ।
पदयात्रा र चौंरी गाईका प्रजातीको अवलोकनसँगै हिँउले सेताम्य भएका हिमाल र डाँडाकाँडाको दृश्यावलोकनका लागि उपर्युक्त यी स्थानमा यतिखेर नेपालसँगै भारतको पञ्जाव, वेष्ट बंगाल र भुटानसम्मका पर्यटक आइपुग्न थालेको फालेलुङका पर्यटन व्यवसायी चन्द्रलाल नेपाल बताउँछन् ।
यी क्षेत्रबाट कञ्चनजंघा, कुम्भकर्ण, सगरमाथा र मकालुसहित सिक्किम र भुटानसम्मका दर्जन बढी हिमश्रृंखलाको एकसाथ अवलोकन गर्न सकिन्छ । यो क्षेत्र गत भदौ महिनामा भएका जेन्जी विद्रोह पश्चात पर्यटक आगमन ठप्प भएको थियो । त्यसपछि असोज १७ देखि १९ र पुनः कात्तिक महिनामा भएको वर्षाका कारण बाटोघाटो विग्रँदा आन्तरिक पर्यटकसमेत पुग्न सकेका थिएनन् ।
यसैबीच कात्तिक अन्तिम सातादेखि मौसम खुल्नका साथै यहाँ पुग्ने बाटो मर्मत र होम–स्टे तथा गोठ स्टेहरुले सेवा दिन थालेसँगै पर्यटकको चहल पहल बढेको चाररातेका होम–स्टे सञ्चालक डिल्ली केरुङको भनाइ छ ।
उच्च पहाडी क्षेत्रमा पुग्ने पर्यटकका लागि तीनसिमाना क्षेत्रमा नेपालीले सञ्चालन गरेका चारवटा गोठस्टे र भारततर्फको एउटा लज सञ्चालनमा छन् । तीमध्ये नेपाल तर्फका गोठ स्टेमा मात्रै कम्तिमा एकसय पर्यटकले सेवा लिन सक्छन् । यो वर्ष भदौदेखि कात्तिकसम्म शून्य प्रायः रहेको तीनसिमाना र फालौट क्षेत्रमा कात्तिक २२ देखि पर्यटकको संख्या हृवात्तै बढेको छ ।
पदयात्रा र हिमालको अवलोकनसँगै यो क्षेत्रमा पाइने दुर्लभ रेड पाण्डासहितका वन्यजन्तुले पनि पर्यटक तान्ने गरेका छन् । सन्दकपुर र चारराते क्षेत्रमा आजकल दैनिक दुई सय हाराहारी आन्तरिक र बाहृय पर्यटक पुग्न थालेको सन्दकपुरका होटल व्यवसायी रिञ्जी सेर्पाले बताए ।(कान्तिपुरबाट)



