झापा, पुष ४ । दुई दिनअघि भारतको सिलिगुडी गएका पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का सर्वोच्च नेता मोहन भागवतसंग भेट गरेका छन् ।


पूर्वराजा शाह बसेको मल्लगुडी क्षेत्रको पाँचतारे होटल कोर्टयार्ड बाई मेरियटमा आएर मोहन भागवतले भेट गरेको गुप्तचर निकायका एक अधिकारीले पुष्टि गरे । ती अधिकारीका अनुसार दुवैजनाबीच हिजै भेट भएको हो । आज सिलिगुडीको सेवक रोडस्थित उत्तर बंगाल मारवाडी भवनमा अन्य नेताहरुसंग पूर्वराजा शाहले भेट गर्ने अनुमान गरिएको छ । उनी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को क्षेत्रीय स्तरको बैठकमा भने सहभागी भएनन् ।

पूर्वराजा ज्ञानेन्द्र बुधबार अपराह्न सिलिगुडी पुगेका थिए । उनी पत्नी कोमलसहित मल्लगुडी क्षेत्रको पाँचतारे होटल कोर्टयार्ड बाई मेरियटमा बसेका छन् ।

पश्चिम बंगालको दोस्रो ठूलो सहर सिलिगुडीमा हिजो राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को क्षेत्रीय स्तरको बैठक आयोजना गरिएको थियो । भू–राजनीतिक दृष्टिले संवेदनशील सिलिगुडीको ‘चिकेन नेक्स’ क्षेत्रमा आरएसएसले पहिलो पटक बैठक आयोजना गरेको थियो । उत्तर बंगाल केन्द्रित त्यस बैठकमा संघका सर्वोच्च नेता मोहन भागवत सहभागी भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्