झापा, पुष ४ । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ठूलो परिमाणमा हतियार र गोलीगठ्ठा फेला परेको छ ।

आज साँझ ५ बजे दमक नगरपालिका वडा नं. १ बुद्ध टोलस्थित रतुवा खोला किनारको काँसघारीमा बेवारिसे अवस्थामा हतियार तथा गोलीगठ्ठा फेला परेको हो । स्थानीयले देखेर इलाका प्रहरी कार्यालयमा दमकमा जानकारी गराएका थिए ।

फेला परेका हतियार तथा गोलीगठ्ठामा .म्याग्जिनसहितको ३११०३३६१ नम्बर भएको ईन्सास थान–१,म्याग्जिनसहितको ३११०३३६४ नम्बर भएको ईन्सास थान–१,म्याग्जिन नभएको ३११०३५१२ नम्बर भएको ईन्सास थान–१ ,३०३ को जंगी राउण्ड थान–१३४,एसएलआरको जंगी राउण्ड थान–५ र ईन्सासको जंगी राउण्ड थान– २० रहेका छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक किशोर लम्सालको कमाण्डमा टोली खटिएर हेर्दा ती हतियार तथा गोलीगठ्ठा खिया लागेको अवस्थामा फेला परेको थियो । ती हतियारहरु जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट आन्दोलनकारीहरुले लुटपाट गरी लगेको अभिलेखबाट देखिएको छ । ती हतियार तथा गोलीगठ्ठाहरु बरामद गरी इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका १७ थान हतियार अझै गायब नै रहेको छ । जम्मा २४ थान हतियार लुटेकोमा ७ थान हतियार मात्र भेटिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्