एजेन्सी । बंगलादेशको मयमनसिंह जिल्लाको भालुकामा धर्मको अपमान गरेको आरोपमा एक हिन्दू युवकको आक्रोशित भीडले कुटपिट गरी हत्या गरेको छ ।

घटना बिहीबार राति भालुका उपजिल्लाको दुबलिया पाडामा भएको प्रहरीले बताएको छ । भालुका प्रहरी चौकीका ड्युटी अफिसर रिपन मियाँका अनुसार ती युवकलाई कुटपिट गरी हत्या गरेपछि उनको शव रुखमा बाँधेर आगो लगाइएको थियो। मृत्यु हुनेमा दिपुचन्द्र दास रहेको प्रहरीले जनाएको छ ।

मृतक स्थानीय कपडा कारखानामा काम गर्ने र सो क्षेत्रमा कोठा भाडामा लिएर बस्ने गरेको अधिकारीहरूले बताएका छन् ।
भालुका प्रहरी चौकीका ड्युटी अफिसर रिपन मियाँले भने, “बिहीबार राति करिब ९ बजे पैगम्बरको अपमान गरेको आरोपमा केही आक्रोशित व्यक्तिले उनलाई पक्रेर कुटपिट गरे। त्यसपछि उनको शरीरमा आगो लगाए।”

घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको अधिकारीहरुले बताएका छन् । मृतक दासको शव बरामद गरी मयमनसिंह मेडिकल कलेज अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

रिपन मियाँले भने, “हामी उनीहरूका आफन्तको खोजी गरिरहेका छौं। उनीहरू आएर मुद्दा दर्ता गरेमा कानुनअनुसार कारबाही हुन्छ।”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्