बिर्तामोड , पुष ६ । पञ्चकन्या महिला बहुउद्देश्यीय सहकारी संस्था लि. बिर्तामोड ३ बिर्ताबजारको अध्यक्षमा पुनः यादवकुमारी तिम्सिना निर्वाचित भएकी छन् ।

संस्थाको २३ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएकी हुन् । अधिवेशनबाट उपाध्यक्षमा नैनकला चुडाल , सचिव गंगाकुमारी कार्की र कोषाध्यक्षमा मेनुका थपलिया पनि सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कमलादेवी भट्टराई , कान्तीदेवी तामाङ , शोभा आचार्य , सरिता राई र देवीकुमारी बास्कोटा चयन भएका छन् ।

त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा दुर्गादेवी न्यौपाने तथा सदस्यहरुमा यशोदा खड्का र गितादेवी निरौला पनि निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन गराउनका लागि विज्ञान दाहाल निर्वाचन अधिकृत तथा डिल्ली दाहाल र शोभा सुवेदी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

संस्थाकी अध्यक्ष तिम्सिनाको अध्यक्षता तथा सहकारी प्रशिक्षक एवं पूर्व सहकारी अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अध्यक्षले वार्षिक प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समिति संयोजक दुर्गादेवी न्यौपानेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा जेष्ठ नागरिक मेनुका काफ्‌ले , असल बचतकर्ता चन्द्रकला सिटौला , असल ऋणकर्ता उमा चौहान र असल कर्मचारी निर्मला गुरुङलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रमको संचालन नैनकला चुडालले गरेकी थिइन् ।

बिर्तामोडमा रहेका १२ वटा महिला सहकारी संस्थामध्ये पञ्चकन्या तेस्रो स्थानमा पर्दछ । गत वर्ष १० लाख ९६ हजार ३५१ रुपैयाँ नाफा गरेको आफ्‌नो संस्थाले यस वर्ष १३ लाख ५६ हजार ४८० रुपैयाँ खुद नाफा कमाउन सफल भएको व्यवस्थापक संगीता राजवंशीले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्