झापा, पुष ७ । करिव चार महिनाअघि अव्यवस्थित इन्टरनेटको तारमा अल्झिएर दुर्घटनामा परेका झापा गाउँपालिका वडा नं ६ का ५५ वर्षीय सहरमान कट्वालको मृत्यु भएको छ ।

गएराति १२.४० बजे झापा गाउँपालिका वडा नं ६ शरणामतीस्थित आफ्नै घरमा उनको निधन भएको गाउँपालिकाका अध्यक्ष अन्जुदेवी थपलियाले बताइन् । गत भदौ १९ गते दिउँसो १.३० बजे झापा गाउँपालिका ३ स्थित कामाटोली बजार उनी चढेको प्र १–०१–०१७प ८६२४ नं को स्कुटी इन्टरनेटको तारमा अल्झिएर दुर्घटना भएको थियो । बिजुलीको पोलबाट सडक पार गर्दै लगिएको इन्टरनेटको तार ट्रकमा अल्झिएर सडकमा छरपस्ट रहेको थियो ।
उनी शरणामतीबाट झापा बजारतर्फ जाँदै गरेका थिए । घाइते कट्वाललाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । टाउको र मुखमा चोट लागेर गंभीर घाइते भएका कट्वाललाई बीएण्डसीबाट केएमसी अस्पताल काठमाण्डौ समेत लगिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि उनलाई घर ल्याइएको थियो । घरमै उनको निधन भएको हो ।



