दमक, पुष ७ । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट भागेका अर्का थुनुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तेह्रथुम लालीगुराँस नगरपालिका ४ बस्ने बर्ष २५ का आङदावा शेर्पा रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आज बिहान ९ः४० बजे दमक ६ बाट उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । उनी सवारी ज्यान मुद्दामा पक्राउ परेका थिए । भदौ २४ गते जेनजी आन्दोलनकारीहरुले आक्रमण गर्दा उनी फरार भएका थिए ।
जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट ३२ जना थुनुवा फरार भएका थिए ।त्यसमध्ये हालसम्म ९ जना थुनुवा पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा फरार भएका थुनुवाहरुको मिसिल नहुँदा दमक प्रहरीले पक्राउ गर्न सकेको छैन ।
जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरुले प्रहरी कार्यालयमा तोडफोड र आगजनी गर्दा हिरासतबाट भागेका धेरै थुनुवाहरुको मिसिल जलेर नष्ट भएको थियो । घटनास्थलको सर्जमिन मुचुल्काको अभावमा धेरै फरार थुनुवाहरुलाई पक्राउ गर्न नसकिएको डीएसपी किशोर लम्सालले बताए ।उनले केही फरार थुनुवाहरु सम्पर्कमा रहेको बताउँदै मिसिल बनाएर थुनुवाहरुलाई पक्राउ गर्ने क्रम जारी रहेको जानकारी दिए ।
जेनजी आन्दोलनका बेला झापाका तीनवटा प्रहरी कार्यालयहरुबाट ९२ जना थुनुवा फरार भएका थिए ।त्यसमध्ये ७२ जनामाथि मुद्धा दर्ता भएको थियो भने २० जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट ३४ पुरुष र एक महिला गरी ३५ जना थुनुवा फरार भएकोमा हालसम्म एक महिलार १७ पुरुष गरी १८ जना पक्राउ परेका छन् ।१७ जना अझै फरार छन् ।
त्यस्तै इलाका प्रहरी कार्यालय झिलझिलेबाट ५ जना थुनुवा फरार रहेकोमा ४ जना पक्राउ परेका छन् भने एकजना फरार रहेका छन् ।
बिर्तामोड , दमक र झिलझिले प्रहरी कार्यालयबाट दुई महिलासहित ७२ जना थुनुवा फरार रहेकोमा हालसम्म एक महिलासहित ३१ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । फरार रहेका ४१ जनाको खोजी भइरहेको उनले जानकारी दिएका छन् ।



