झापा,पुष १० । इसाई धर्मावलम्वीहरुको एक मात्र विशेष चाड ख्रीष्टमसलाई झापाका विभिन्न चर्चहरुमा उत्सवमय कार्यक्रम गरेर मनाइएको छ ।

इसाई धर्म गुरु येशू ख्रीष्टको जन्मदिनको विशेष स्मरणमा यो पर्व मनाउने प्रचलन रहेको छ । विश्वभरी रहेका इसाईहरुले मनाउने यो पर्व पछिल्लो समय नेपाली समाजमा पनि एक विशेष रहँदै आएको छ ।
इस्वी सम्वत् अनुसार हरेक वर्षको अन्त्यमा डिसेम्बर महिनाको २५ तारिखलाई ख्रीष्टमसको उत्सवमय दिनको रुपमा मनाउने चलन छ । यसलाई बडादिन भनेर पनि भन्ने गरिएको छ । कन्य मरियमको गर्भबाट येशूको जन्म भएको भन्ने धर्मशास्त्र बाईबलमा उल्लेख छ ।

झापाका सबै चर्चहरुले बडादिनको उत्सव विभिन्न सांस्कृतिक कार्यक्रम गरेर मनाएका छन् । यसै अनुसार बिर्तामोडस्थित विलिभर्स चर्चले बिभिन्न उत्सवमय कार्यक्रम गरेर यो पर्व मनाएको छ ।
चर्चका प्रमुख फादर डा. चित्रकुमार रुपाचाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राहुल शर्मा रहेका थिए ।कार्यक्रममा बाईबलीय बचन ,विभिन्न नृत्य , गायनसहित कार्यक्रम सम्पन्न गरिएको थियो ।
विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिसहितको कार्यक्रममा मुना राईको स्वागत रहेको थियो । कृष्ण लिङ्देन र पूजा लिङ्देनको संयुक्त संचालनमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बिर्तामोड नगरपालिकामा २५ भन्दा बढी र झापामा करिव ५ सयवटा चर्च रहेका छन् । बिर्तामोडमा करिव १५ हजार इसाई धर्मावलम्बी रहेको अनुमान गरिएको छ ।



