झापा, पुष ११ । विराटनगरका क्यासिनोहरुमा गैरकानुनी रूपमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाउँदै गर्दा १७ जना पक्राउ परेपछि झापाका क्यासिनोहरुमा पनि प्रहरीले निगरानी बढाएको छ ।

बिर्तामोडको होटल किंग्सवेरी र मेचीनगरको होटल मेची क्राउनमा संचालित क्यासिनोमा प्रहरीले निगरानी बढाएको हो । झापाका क्यासिनोहरुमा पनि गैरकानुनी रूपमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाउने गरेको गुनासो बारम्बार आउने गरेको छ । ‘ हामीहरुले झापाका क्यासिनोहरुमा गैरकानुनी रुपमा नेपालीहरुलाई जुवा खेलाएको विषयमा निगरानी बढाएका छौं ’ एक प्रहरी अधिकृतले भने । झापाका होटलहरुमा संचालित क्यासिनोहरुमा प्रहरीले छापा मारेको सुनिएको छैन । ‘अहिले निगरानी गरिरहेका छौं , शंका लागे प्रहरीले छापा पनि मार्न सक्छ ’ ती प्रहरी अधिकृतले भने ।

गैरकानुनी रूपमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाउने विराटनगरका दुई क्यासिनोमा प्रहरीले आइतवार मध्यरात छापा मारेर सञ्चालकसहित १७ जनालाई पक्राउ गरेको थियो । विराटनगरका क्यासिनोमा नेपालीलाई पनि जुवा खेलाउने गरिएको र त्यस बापत प्रहरी प्रशासनलाई उनीहरूले रकम बुझाउने गरेको तथ्य सार्वजनिक भएको थियो । पक्राउ पर्नेमा नेपाली जुवाडे , क्यासिनोका सञ्चालक र व्यवस्थापक छन् ।

बिग होटलमा सञ्चालित च्याम्पियन जोन क्यासिनोबाट प्रहरीले त्यसका ब्यवस्थापक काभ्रे जिल्ला बनेपा नगरपालिका–११ का ४५ वर्षीय रामकृष्ण गौतमसहित तीन जनालाई पक्राउ गरेको छ ।बैतडीका ५३ वर्षीय हरि भट्ट र विराटनगर–८ का साजन साहसमेत सोही क्यासिनोबाट पक्राउ परेका छन् ।

मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चुँडालका अनुसार रत्ना होटलमा सञ्चालित गोल्डेन क्वाइन क्यासिनोबाट त्यसका व्यवस्थापक सोलुखुम्बुका ४३ लोकेन्द्रबहादुर बस्नेत (हाल काठमाडौं) सहित १४ जना पक्राउ परेका छन् । सो क्यासिनोबाट पक्राउ पर्नेहरूमा विराटनगर–७ का २७ वर्षीय पवन गोश्वामी, विराटनगर–१ का ४५ वर्षीय तेजराज गिरी, २६ वर्षीय कृष्णकुमार कुर्मी र २४ वर्षीय विवेककुमार मण्डल, रामेछापका राज लामा भनिने मणि योञ्जन छन् ।

यस्तै झापा मेचीनगर–७ घर भई विराटनगर ६ वस्ने ४० वर्षीय रोशन गिरी, इटहरी–५ का २७ वर्षीय रूपेश दाहाल, वडा नम्बर ८ का २९ वर्षीय प्रमोद घिमिरे ,मोरङ सुन्दरहरैंचा–४ का २३ वर्षीय आदेश बिक, बूढीगंगा–२ का ४० वर्षीय मोहमद जाकिर हुसेन, कटहरी ४ का २६ वर्षीय सुरज राय, झापा दमक–४ का ४० वर्षीय घनश्याम गिरी, उदयपुर चौदण्डीगढीका ३८ वर्षीय सन्तोष बस्नेत पनि पक्राउ परेका छन् । बस्नेत क्यासिनोका कर्मचारी हुन् ।

पक्राउ परेका ब्यक्तिहरूबाट जुवा खेल्न नगदको साटो प्रयोग हुने चक्कीसहित पक्राउ गरिएको छ । क्यासिनोले खेलाडीलाई खेल्नुअघि नगद लिएर भारू १ सय, १ हजार र १० हजार दरका चक्की दिने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्