दमक, पुष १२ । दमक उद्योग वाणिज्य संघको यही पुष १८ गते हुने निर्वाचनका लागि तीन वटा समूहले आ–आफ्‌ना प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।


संघको अध्यक्षसहित पदाधिकारीतर्फ विभिन्न ६ पदमा १८ जना , ६ वस्तुगत सदस्यतर्फ १३ जना र ६ खुला सदस्यतर्फ समेत १८ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, महिलातर्फ दुई सदस्यमा ६ जनाको उम्मेदवारी परेको छ । २० सदस्यीय कार्यसमितिमा ५५ जनाको मनोनयन दर्ता भएको छ ।

यस्तै, संयोजकसहित दुई सदस्य गरी तीन सदस्यीय लेखा समितिमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ ।
शुक्रवार उम्मेदवारी मनोनयनका क्रममा संघका हालका अध्यक्ष समेत रहेका देवीप्रसाद गुरागाईं(गोपाल) को नेतृत्वमा संयुक्त व्यवसायिक प्यानल, नेकपा एमाले निकटबाट अध्यक्षमा भरत चम्लागाई र राप्रपा निकटबाट राजु खड्काको प्यानल गरी तीन वटा समूहले उम्मेदवारी दिएका हुन् ।

नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच संयुक्त गठबन्धन निर्माण गरि गुरागाईको नेतृत्वमा चुनावी मैदानमा होमिएका छन् ।

नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी समर्थित ब्यवसायीहरुको संयुक्त प्यानलबाट अध्यक्षमा गुरागाईसहित बरिष्ठ उपाध्यक्षमा ज्ञाननाथ पौडेल(ज्ञानु), महिला उपाध्यक्षमा संगीता राई तुम्बापो, प्रथम उपाध्यक्षमा रुबल अधिकारी, द्वितीय उपाध्यक्षमा टिकाराम खतिवडा, तृतीय उपाध्यक्षमा सुवास गड्तौलाको उम्मेदवारी दर्ता भएको हो ।

त्यसैगरी सदस्यहरुमा चिरन न्यौपाने, प्रकाश पौडेल, भरत दुलाल, तोर्ण बस्नेत र युवराज घिमिरेका साथै महिला सदस्यमा गंगा अधिकारी बजगाईं र बसुधा कडरिया दाहाल साथै लेखा समिति संयोजकमा भेनस श्रेष्ठसहित सदस्यहरु रुपक सापकोटा र विलास यादवले उम्मेदवारी दर्ता गरेका छन् ।

सोही प्यानलबाट वस्तुगततर्फ रेवती दाहाल, चन्द्र काफ्ले, विवेक बजगाईं (बुद्धिसागर) , कृष्णराज दाहाल,सहदेव भट्टराई र टंक ढकालको उम्मेदवारी परेको छ ।

यसैगरी, भरत चम्लागाईको समूहबाट वरिष्ठ उपाध्यक्षमा भगवान बस्नेत, महिला उपाध्यक्षमा लोकमाया ढुंगाना, प्रथम उपाध्यक्षमा सुनिल साह, द्वितीय उपाध्यक्षमा रमेश लुईटेल, तृतीय उपाध्यक्षमा उमेश गजमेरको उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी, राजु खड्काको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजकुमार योङ्या, महिला उपाध्यक्षमा सुष्मा निरौला, प्रथम उपाध्यक्षमा तुलसी तिम्सिना, द्वितीय उपाध्यक्ष नविनकुमार अग्रवाल र तृतीय उपाध्यक्षमा विवेक श्रेष्ठको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिका संयोजक लीला गुरागाईले हिजो विहान १०.३० बजेदेखि २.३० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम राखिएको बताए । उम्मेदवारहरुमाथि आज विहान १०.३० देखि २.३० बजेसम्म दावी विरोध,३.३० बजे दावी विरोधपछि उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका थियो । कुनै पनि उम्मेदवारमाथि दावी विरोध नपरेको जनाइएको छ ।

१३ गते पुष विहान १०.३० देखि ४ बजेसम्म उम्मेदवार मनोनयन फिर्ता र सोहि दिन ४.३० बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने उल्लेख छ । निर्वाचन कार्यक्रमअन्तर्गत पुष १८ गते विहान ८ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान तय गरिएको र सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समितिका संयोजक गुरागाईले बताए ।
आगामी तीन वर्षे कार्यकालका लागि हुने निर्वाचनमा संघमा आवद्ध २२ सय ९८ जना सदस्यले मतदान गर्ने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्