झापा, पुष १३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बीच सहमति भएपछि नेकपा एमालेका नेता कार्यकर्ता क्रुद्ध बनेका छन् । उनीहरुले सामाजिक संजालमार्फत विष बमन गर्न थालेका छन् ।


नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र बालेन शाहबीच सम्झौता भएपछि भदौ २३ र २४ गते हिंसात्समक घटनाको योजनाकार र मतियार को थिए भन्ने सार्वजनिक हुन लागेको प्रतिक्रिया दिएका छन्। उनले भदौ २३ र २४ को घटनालाई भूराजनीतिक द्वन्द्व गोटी बनाएर नेपाललाई युक्रेनजस्तो अस्थिर बनाउने षडयन्त्रको पहिलो चरणको संज्ञा दिएका छन्।

‘भाद्र २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरियो। त्यसको आडमा भाद्र २४ गते मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गरियो। यी विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए ? भन्ने कुरा क्रमशः सार्वजनिक हुँदैछ,’

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘भाद्र २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो। अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदैछ।’
नेता पोखरेलको सो पोस्टलाई एमाले सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले रिपोस्ट गरेका छन् ।

त्यस्तै केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पनि नकारात्मक टिप्पणी गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन् ,‘विचार मिल्नेहरु एकै ठाउँ उभिनु राम्रो हो । (उसो त, विचार मिलेको हो कि स्वार्थ– समयले नै बताउँला ।) त्यसमाथि, सिंहदरबार जलाउने या जल्दा उत्सव मनाउनेहरु पनि लोकतान्त्रिक प्रतिष्पर्धाबाट त्यही सिंहदरबारमा पुग्न खोज्नु सकारात्मक हो ।’

उनले अगाडि लेखेका छन् ,‘तर यस्ता भेटघाटहरुलाई लिएर यस्तो तरङ्ग ल्याउन खोजिँदैछ– मानौँ, आजसम्म नेपाल नबनेकै अमुक व्यक्तिहरु नमिलेर हो । जस्तो कि दक्षिण भारतीय चलचित्रहरुमा देखिन्छ– कुनै नायक रङ्गमञ्चमा उत्रेर ढ्याक्क खुट्टा बजार्छ, तुफान सिर्जना हुन्छ, अनि सबै खलनायकहरु सोत्तर हुन्छन् ! यो मिलनले यस्तै ‘तारणहार’ जन्माउँछ र देशले मुक्ति पाउँछ भन्ने भ्रान्ति फैलाउन खोजिँदैछ ।’

उनले यस्तो तिलस्मी तत्वको खोजीले मुलुकलाई कहीँ पनि नपुर्‍याउने बताउँदै देश बनाउनमा व्यक्तिको भूमिका हुँदैन भन्ने होइन, तर देश बन्ने भनेको अन्ततोगत्वा विचार, संस्था, प्रणाली र सामूहिकताले हो भन्ने धारणा राखेका छन् । उनको सो पोस्टलाई अर्का केन्द्रीय सदस्य दीपक कार्कीले रिपोस्ट गरेका छन् ।

त्यस्तै एमाले झापाका अध्यक्ष प्रेम गिरीले आजका यी परिचालितहरुले मौका छोपेर ताउरमाउर गर्दा कोही पनि नतर्सिने प्रतिक्रिया दिएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन् ,‘ आज देशमा चर्चित भनिएका एकथरीलाई नशामा लठ्ठ पारेर देश, लोकतन्त्र र राजनीतिक प्रणालीको विरुद्धमा बर्बराउन लगाइन्छ। सिंहदरवार लगायतका देशभरी भौतिक संरचना जलाएर पुरातात्विक, ऐतिहासिक, साँस्कृतिक, न्यायिक, प्राबिधिक र आर्थिक आधार समाप्त पारिन्छ। भौतिक वस्तु बनाइहाल्छौं भनेर ठूलो अपराध र नोक्सानीलाई सानो आश्वासनले अल्मल्याउने कुरा गरिन्छ। डब्बल नागरिकता, डब्बल पासपोर्ट आफै बोक्छन् । सहकारी लगायतका दर्जनौं कसुर र अपराधमा आफै छानविनको माग गर्छन् ।आफ्नै सांसदको सिफारिसमा मुद्धा भिर्ने र अदालत धाउने आफै बन्छन्। ध्वंसको मौकामा आफै जेलबाट निस्कने फेरि आफै लुरुलुरु जाने र करोडौं धरौटीमा मुद्दा डिल गर्ने गर्छन्। यो धन कहाँबाट जोहो हुन्छ? यी पात्रहरु नै आज भक्तजन र परका प्रभुको आशीर्वादमा सेलिब्रेटी करार छन् । कस्मेटिक सिंगारपटार र फण्डिङमा उफ्रेका छन्।हाम्रो जस्तो सानो, गरीव र रणनीतिक महत्व राख्ने देशमा बाह्य हस्तक्षेप र चलखेल उहिल्यैदेखि निरन्तर छ। देशको अहितका लागि र उनीहरुको स्वार्थका लागि काम गर्न नियुक्ति पाउने पहिलेदेखिकै थियो। आजकाहरु नयाँ भेरिएन्ट मात्र हुन्। यिनीहरु स्वचालित हुँदैनन् र परिचालित मात्रै होइनन् आवश्यकता अनुसार युज एण्ड थ्रो पनि हुन्।’

त्यस्तै बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले पनि लेखेका छन् ,‘लुसिफर र बारबराको सरकारले बिर्तामोड नगरपालिकामा कार्यान्वयन हुने बजेट धेरै नै रोक्यो कटौती गर्‍यो ।नगरबासीले धेरै अपेक्षा नराखौ।’ एमालेका नेता कार्यकर्तादेखि पार्टीनिकट पत्रकारहरु समेत रवि र बालेनको मेलबाट बेखुश देखिएका छन् ।

आज बिहान रास्वपा सभापति रवि र र मेयर बालेनबीच सातबुँदे सहमति भएको हो । बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने गरी उनीहरूबीच सहमति भएको हो। त्यस्तै पार्टी सभापतिमा भने लामिछाने रहने सहमतिपत्रमा उल्लेख छ। सहमतिपत्रमा लामिछाने र बालेनले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्