झापा, पुष १४ । कोशी प्रदेशकै उत्कृष्ट विद्यालय बिर्तामोड–२ रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयले आफ्नो ५८औँ वार्षिकोत्सवमा १०८ जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ ।

मोहनमाया विद्या पदक र विभिन्न अक्षयकोषको छात्रवृत्तिबाट त्यति धेरै विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको हो । कक्षा ८ मा ४ जीपीए ल्याउने ६ जनालाई जनही ५ हजार ५ रुपैयाँको दरले मोहनमाया विद्या पदक प्रदान गरिएको थियो । त्यस्तै कक्षा १० मा ४ जीपीए ल्याउने ५ जनालाई जनही ५ हजार ५ र ३.६० देखि ३.९६ जीपीए ल्याउने ५२ जनालाई जनही २५०५रुपैयाँका दरले मोहनमाया विद्या पदक प्रदान गरियो । त्यस्तै कक्षा १२ का ३८ जनालाई २५०५ रुपैयाँका दरले नगदसहित सम्मान गरियो । त्यस्तै डिप्लोमा इन्जिनियरिङ अध्ययनरत ६ जनालाई ५ हजार ५ रुपैयाँका दरले सम्मान गरियो ।
त्यस्तै अक्षयकोषतर्फ सुश्री सावित्री बस्नेत अक्षयकोषबाट ८ जनालाई २५०५ , दुईजनालाई ३५०५ र दुईजनालाई ४००५ रुपैयाँका दरले छात्रवृत्ति वितरण गरियो ।त्यस्तै गंगादेवी रंगलाल चिमरिया स्मृति अक्षयकोषबाट ३००५ रुपैयाँका दरले दुईजनालाई, नैनानन्द विष्णुमाया संग्रौला स्मृति अक्षयकोषबाट ३००५ रुपैयाँका दरले दुईजनालाई , श्यामलाल ( गंगाराम) रणमाया खनाल स्मृति अक्षयकोषबाट २५०५ रुपैयाँका दरले चारजनालाई , चन्द्र विष्णु राउत स्मृति प्रतिष्ठान पुरस्कारबाट २००५ रुपैयाँका दरले ११ जनालाई , गोपालकुमार रमा बस्नेत अक्षयकोषबाट ५००५ रुपैयाँका दरले दुईजनालाई , सुजता रिमाल स्मृति अक्षयकोषबाट ५००५ रुपैयाँका दरले चारजनालाई र रुपनारायण पवित्रा तिवारी अक्षयकोषबाट ३००५ रुपैयाँका दरले दुईजनालाई छात्रवृत्ति बितरण गरिएको थियो । छात्रवृित्तका लागि मोहनमाया माविमा विभिन्न दाताबाट २६ लाख ५६ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवी निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य हर्कमाया विश्वकर्मा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। कार्यक्रममा शिक्षक अनिता बस्नेतले स्वागत मन्तव्य राखेकी थिइन् भने कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रेष्ठले विद्यालयको ऐतिहासिक पृष्ठभूमि र पछिल्लो एक वर्षभित्रका गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गरे। वार्षिकोत्सवका अवसरमा विभिन्न नेपाली सांस्कृतिक तथा आधुनिक नृत्य, फेसन शो र अभिनय प्रस्तुत गरिएको थियो।
यस अवसरमा पूर्व शिक्षक राजेन्द्रप्रसाद संग्रौलाले कक्षा ५ का उत्कृष्ट विद्यार्थीलाई सम्मान गरे। कार्यक्रमकै बीचमा शिक्षक वेदमाया खनाल र आया अम्बिकादेवी दाहाललाई विदाइ गरिएको थियो। कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन शिक्षक मुकुन्द ढकालले गरेका थिए।



