अप्रत्यासित परिघटनाबाट राजनीतिले नयाँ मोड लिएको नेपालमा घोषित फागुन २१ का लागि प्रतिनिधि सभाको चुनाव अब लगभग निश्चित भएको छ।

चुनाव हुनै नसक्ने जोडबल लगाइरहेका दलहरूले समेत समानुपातिक निर्वाचनका लागि निर्धारण गरिएको चुनावी कार्यतालिका अवलम्बन गरिसकेपछि संसद पुनर्स्थापनाको मुद्दा लगभग ओझेलमा पर्न गएको छ ।

आफ्नो मुख्य ध्येय तोकिएकै समयमा निर्वाचन गरी जननिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्न सरकार केन्द्रित पनि छ।

भाद्र २३ र २४ को घटनापछि सरकार र दलका शीर्ष नेतृत्वबिच संवाद हुनु, एउटै मञ्चमा देखिनु र निर्वाचन सफल बनाउने विषयमा केन्द्रित रही छलफलमा जुट्नु आसन्न निर्वाचनका लागि दर्बिलो आधार पनि हो।

सरकार, राजनीतिक दलहरू, निर्वाचन आयोग र सरोकारवाला सबै निर्वाचन केन्द्रित भइरहँदा फागुन २१ को प्रतिनिधि सभा निर्वाचन सफल हुनेमा दुई मत पक्कै नहोला ।

त्यसो त, नेपालमा निर्वाचन नयाँ अभ्यास होइन, २०१५ सालदेखि विभिन्न राजनीतिक उतारचढावका बीच हुँदै आएका निर्वाचनहरूले आ–आफ्नै विशेष पृष्ठभूमि बोकेका छन् ।

तर आसन्न निर्वाचन अघिल्लाभन्दा फरक राजनीतिक सामाजिक र चेतनाको परिवेशमा हुन गइरहेको छ। यही सन्दर्भमा मतदाताले कस्तो चेतनासहित सहभागिता जनाउने भन्ने प्रश्न आज सबैभन्दा अहम् बनेको छ ।

नेपालमा यसअघि भएका चुनावी अभ्यासलाई हेर्दा धेरै हदसम्म पार्टी चिन्हमा आधारित मतदान, नेतृत्वभन्दा संगठनप्रतिको अधिक विश्वास, परम्परागत दल परिचालन र भावनात्मक जातीय वा क्षणिक प्रभावमा सीमित देखिन्छ ।

यसले कतिपय अवस्थामा योग्य, इमान्दार र स्थानीय आवश्यकता बुझ्ने उम्मेदवारभन्दा चिन्ह बलियो भए पुग्ने गलत संस्कारलाई पनि मलजल गरिरहेको छ। राजनीतिक क्रान्ति, प्रजातन्त्र, लोकतन्त्र र सुशासनका खातिर विसं १९९७ सालदेखि २०८२ सालसम्म आइपुग्दा निर्दोष नागरिकले रगत बगाइरहनु परेको छ । लोकतन्त्रमा पनि सत्ता र शक्तिले सर्वसाधारणको काख रित्याइरहेको छ। सुशासन नारामा मात्रै सीमित बन्दै गएको छ। यो परिस्थितिमा आसन्न निर्वाचनका लागि सरकार र राजनीतिक दलहरूको तयारी प्राविधिक मात्रै हो। सचेत निर्णय गर्ने जिम्मेवारी चाहिँ आम मतदाताको हो। किनभने

१ हामीले चुनाव चिन्ह विशेष वा दल विशेषलाई मतदान गरिरहेका छौं कि भविष्यलाई ?
२ असफल प्रमाणित प्रतिनिधिलाई फेरि जिताउँदा दोष कसको हुन्छ ?
३ पाँच वर्षको पीडा एकै दिनको लापरवाहीले आउने परिणाम होइन र ?

लोकतन्त्र मत हाल्ने अधिकार मात्रै होइन सचेत निर्णय गर्ने जिम्मेवारी पनि हो। हामीले देखेका मात्र होइन भोगेका पनि छौं – पटकपटक जितेका तर काम नगर्ने प्रतिनिधिलाई चुनाव चिन्ह बदल्दै सत्ताको वरिपरि घुम्ने नेताहरुलाई ।

त्यसो त केहीको प्रश्न आउन सक्छ। चिन्हबिना चुनाव सम्भव छ र ? हो चुनावमा चिन्ह आवश्यक छ। मतदान चुनाव चिन्हमै गर्ने हो। तर निर्णायक चाहिँ चिन्ह हुन सक्दैन ! निर्णायक त तपाईँले मतदान गर्ने क्षेत्रको उम्मेदवारको विगत दृष्टिकोण र जवाफदेहिता हुन जान्छ। तसर्थ आसन्न निर्वाचनको संघारमा आउने उम्मेदवारलाई गहिरो अध्ययन गरौं।

वर्तमानमा राजनीतिक दलहरूप्रतिको बढ्दो निराशा अस्वीकार गर्नु प्रत्युत्पादक हुन सक्छ। यसलाई चिरेर जनमत आफूतर्फ आकर्षित गर्नु दलका नेता र कार्यकर्ताको प्रधान कर्म हुनुपर्दछ । दल विशेषका स्वार्थका लागि पटकपटक हुने गरेका सत्ता परिवर्तन, युवा पुस्ताको वितृष्णा र वैकल्पिक खोज, स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षण अनि सामाजिक सञ्जालले बनाएको नयाँ राजनीतिक चेतनाको पृष्ठभूमिमा हुन लागेको निर्वाचनको परिणाम कस्तो आउला ? राजनीतिक दलका नेतृत्वले दाबी गरेजस्तै या फरक !

लोकतन्त्र आफैमा सुन्दर शासन व्यवस्था हो। व्यवस्था सञ्चालकको लापरवाहीले लोकतन्त्रभित्र भित्रिएको विकृतिको सफाई गर्ने अवसर पनि हो आसन्न निर्वाचन ।

यो लोकतन्त्रलाई नै दोषी देखाउने प्रयासलाई उचित जवाफ दिन पनि यसअघिका विकृतिका कारकलाई यसबेला केलाउन जरुरी छ ।

शासन र सुव्यवस्था मानिसले चलाउने हो। सही मानिस बिना सही व्यवस्था सम्भव छैन। यसकारण आसन्न निर्वाचन केवल सरकार छान्ने प्रक्रिया मात्रै होइन। हाम्रो विवेक चेतना र भविष्यको परीक्षा पनि हो। त्यसैले यसपटक रङ, चिन्ह र भीडको पछि होइन, जिम्मेवार इमान्दार र सक्षम उम्मेदवार चयन गरेर मत हालौं।

१ प्रतिक्रिया

  1. सुन्दर धारणा आम मतदाताहरूले सोच्नुपर्ने विषयको उठान

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्