झापा, पुष १७ । गत निर्वाचनमा ७७ हजार ७४४ मत ल्याएको झापाबाट यसपटक समानुपातिक उम्मेदवार छनौटमा एकजना पनि नपर्नु असमानुपातिक व्यवहार भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई त्रुटि सच्याउन आग्रह गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी झापाका तर्फबाट कार्यवाहक सभापति प्रकाश पाठकले केन्द्रीय समितिलाई ध्यानाकर्षण पत्र पठाउँदै त्रुटि सच्याउन आग्रह गरेका हुन् । भोटकै आधारमा मात्र अल्पसंख्यक जातजातिलाई समावेश नगरिनु अन्याय हुने भन्दै उनले सो वर्ग र जातिलाई अनिवार्य समावेश गराउन अनुरोध गरेका छन् ।

‘ नेपालभरमा ५० हजार मात्र जनसंख्या भएको अल्पसंख्यक, पिछडा वर्गको सन्थाल जाति (आदिवासी जनजाति) र करिब १ लाख मात्र जनसंख्या भएको सीमान्तकृत माझी जाति (आदिवासी जनजाति) का व्यक्तिले काठमाडौँ वा अमेरिकावासी सम्भ्रान्त वर्ग वा कलाकार सेलिब्रेटीले बराबर आफ्नो प्रस्तुति, क्षमता र भोटको प्रदर्शन गर्नुपर्ने कुरा संबिधानको समतामूलक व्यवस्थाको मर्म अनुसार हुन सक्दैन’ उनले उल्लेख गरेका छन् । आकांक्षीहरुले छनौट समितिसमक्ष प्रदर्शन गरेको प्रस्तुति समेत सार्वजनिक नगरिएको र भोट गर्न चाहँदा पनि पोर्टल प्रणालीमा समस्या आएर झापाबाट भोट गर्न नसकिएको उनले गुनासो गरेका छन् ।

नेपालको संविधानको धारा ८४ को २ ले समानुपातिक सांसदमा उम्मेद्वारी दिँदा भूगोल र प्रादेशिक सन्तुलनलाई ध्यान दिनुपर्नेछ भनिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेद्वार छनौट रुपरेखा २०८२ को बिधि ६ मा उम्मेद्वार छनौटलाई जनसंख्या, संवैधानिक क्लस्टर, २०७९ मा रास्वपाले पाएको समानुपातिक मत समेतलाई आधार मानिने भनिएको छ।

साथै चितवनको विस्तारित बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको प्रतिवेदनमा चितवनपछि झापा संगठनका हिसाबले पहिलो जिल्ला भएकाले प्राथमिकता दिने कुरा स्मरण गराइएको छ । झापामा सबैभन्दा बढी १०२ वटा वडा र ११ वटा पालिका अधिवेशन सम्पन्न गरेका हिसाबले नेपालकै पहिलो बनेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्