झापा, पुष १७ । जंगली हात्तीले एकैरात झापाको कमल , भद्रपुर र बिर्तामोडमा घर भत्काएर क्षति पुर्‍याएको छ ।

आज बिहानको राति १ बजे कमल गाउँपालिका – ३ बगाने टोलमा ३ वटा जंगली हात्तीको हुल आई सोही ठाउँ बस्ने ५२ वर्षीय गणेश बस्नेतको बाँसको टाटी बेराले बनेको टिनको छानो भएको भुइँघरमा आंशिक क्षति गरेको छ भने बाँसको टाटी बेरा फुसको छानो भएको भान्सा घर पूर्णरुपमा भत्काएको छ । सोही घरभित्र रहेको ४ मन धान, ४ मन मकैको पिठो, लत्ताकपडा, भाँडावर्तन,खाट गरी अन्दाजी एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बिहान २ बजे भद्रपुर वडा नं. ७ डाँफे चौक बस्ने ऋषि भट्टराईको ईटा र टिनको छानो भएको एकतले पक्की घरको पूर्वपट्टि किचनको इटाको पर्खाल भत्काई अन्दाजी २२ हजार बराबरको क्षति गरेको छ ।

त्यसैगरी बिहान ४ बजे बिर्तामोड –८ किशनभिट्टा बस्ने टंक बराइलीको टाँटी बेरा टिनको छानो भएको एकतले कच्ची घरको टाँटी एउटा हाती आई भत्काएको छ । सो हात्तीले भण्डार कोठाभित्र रहेको ८ क्वीन्टल धान, एक क्वीन्टल चामल खाएर अन्दाजी ४५ हजार बराबरको क्षति गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्