झापा, पुष १९ । आगामी निर्वाचनका लागि झापा क्षेत्र नं २ बाट छविलाल विश्वकर्माले नेकपा एमालेका तर्फबाट उम्मेद्वारी दिने आकांक्षा व्यक्त गरेका छन् ।

एमालेको नवौ , दशौ र एघारौ महाधिबेशनमा गरी लगातार तीन पटक महाधिवेशन प्रतिनिधि चयन भएका बिर्तामोड ४ निवासी विश्वकर्माले आफूलाई सक्षम उम्मेद्वारको रुपमा प्रस्तुत गर्न लागेका हुन् ।
२०४६ सालदेखि अनेरास्ववियु र उजाउ मञ्चमा संगठित हुँदै उनले २०५३ असार ३ गते पाँचथरको रानीगाउँमा पार्टी सदस्यता लिएका थिए । त्यसपछि उनी २०५४ सालमा तेह्रथुम क्याम्पसको स्ववियू सदस्यमा निर्वाचित भएका थिए ।
पाँचथरको रानीगाउँमा रहँदा गाउँ कमिटीको सदस्य , उपसचिव र सचिवको जिम्मेवारी पूरा गरेका थिए । २०५६सालको निर्वाचनमा गाउँ कमिटीको सचिवको जिम्मेवारी रहँदा उनले त्यसबेला पाँचथरको ४७ गाबिसमध्ये सबैभन्दा बढी ६९.३ प्रतिशत मत आफ्नो पार्टीमा खसाउन सफल भएका थिए । उत्पीडित जाति समुदायको पक्षमा निरन्तर लागिपरेका विश्वकर्माले मुक्ति समाज पाँचथर जिल्ला कमिटीको सदस्य , कोषाध्यक्ष, सहसचिव हुँदै अध्यक्षको जिम्मेवारी पूरा गरेका थिए । उनले २०६८ सालमा मुक्ति समाजको मेची अञ्चल कमिटी सचिव निर्वाचित भई काम गरेका थिए ।
त्यसपछि बैदेशिक रोजगारको सिलसिलामा कतारमा रहँदा कतारमा समेत पार्टी निर्माण गरी विशेष जिल्ला कमिटी सरहको कमिटीमा सदस्य अनि सहसचिव र सचिवको जिम्मेवारी पूरा गरेका थिए ।
उनले कतारमै रहँदा कतार प्रवासी नेपाली मञ्चको उपाध्यक्ष र कार्यबाहक अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरेका थिए ।
२०६७ सालमा नेपाल फर्किसकेपछि तत्कालीन अनारमनी नगरोन्मुख गाउँ कमिटीको उपाध्यक्षमा भारी मतका साथ बिजयी भएर जिम्मेवारी पूरा गरेका विश्वकर्मा २०७८ सालदेखि नेकपा एमाले झापा जिल्ला कमिटीको सचिवालय सदस्य तथा कार्यालय सचिवको जिम्मेवारीमा हाल दोस्रो कार्यकालका लागि कार्यरत छन् । उनी मुक्ति समाजको केन्द्रीय सचिवालय सदस्यसमेत हुन् ।



