वीरु दर्नाल,
बिर्तामोड , पुष १९ । महेन्द्र रत्न मावि अनारमनीको भूतपूर्व विद्यार्थी समाजको अध्यक्षमा मदनगोपाल सुब्बा सर्वसम्मत चयन भएका छन् ।


समाजको आज सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट यसअघि उपाध्यक्ष रहेका सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

आगामी दुई वर्षको लागि चयन भएको १५ सदस्यीय नयाँ समितिमा उपाध्यक्ष रुपक थापा, सचिव भूविक्रम बस्नेत , कोषाध्यक्ष नरेश न्यौपाने रहेका छन् । त्यस्तै सदस्यहरुमा भावना आचार्य , शारदा न्यौपाने , इन्दिरा भट्टराई , शान्ता चुडाल , शोभा आचार्य , कमलराज बिमली , सुशिल बस्नेत , बाबुलाल अग्रवाल , कृष्णलाल राजवंशी , गोपाल दाहाल र किशोर मैनाली रहेका छन् ।

समाजका संस्थापक अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिचरण शिवाकोटी रहेका थिए । अध्यक्षको प्रतिवेदन संस्थापक अध्यक्ष पोखरेलले प्रस्तुत गरेको कार्यक्रमको संचालन मोहन शिवाकोटी र स्वागत मदनगोपाल सुब्बाले गरेका थिए ।

कार्यक्रममा चार जना शिक्षकलाई सम्मान गरिएको थियो। वर्तमान प्रधानाध्यापक खड्गप्रसाद खरेल तथा शिक्षकहरु नेत्रप्रसाद खरेल , भोजराज दाहाल र युवराज कट्टेललाई सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी , पूर्व प्रधानाध्यापक देवेन्द्र गौतम र प्रधानाध्यापक खड्गप्रसाद खरेलले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा समाजद्वारा प्रकाशित महेन्द्र रत्न प्रेरणा पुञ्ज स्मारिका विमोचन गरिएको थियो । समाजको हालसम्म १७ लाख रुपैयाँ अक्षय कोषमा जम्मा भएको र एक सय ५१ जना पूर्व विद्यार्थी आजीवन सदस्य रहेको काजी बुढाथोकीले बताए ।
पहिलो पटक बि. सं. २०७९ साउन २१ गते विद्यालय परिसरमा सम्पन्न भेलाले राजकुमार पोखरेलको अध्यक्षतामा तदर्थ समिति निर्माण गरेको थियो । यस्तै ०७९ मंसिर २८ गते यस भूतपूर्व विद्यार्थी समाजको जिल्ला प्रशासन कार्यालय झापामा विधिवत दर्ता भएको थियो ।

संस्थाको अक्षय कोषमा ५ हजार ५ सय समर्पण गर्ने सदस्यलाई स्वतः संस्थाको आजीवन सदस्य बनाउने ब्यवस्था गरिएको डा. लक्ष्मीप्रसाद मैनालीले जानकारी दिए । ०१४ सालमा स्थापना भएको यस विद्यालय २०२७ सालदेखि प्रवेशिका परीक्षामा सहभागी भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्