लक्ष्मी उप्रेती
झापा । पूर्वकै पुरानो बजार भद्रपुर सुस्ताएपछि त्यसलाई चलायमान बनाउन महोत्सव आयोजना गरिने भएको छ ।

आगामी माघ ७ देखि २१ गतेसम्म भद्रपुर–८ को मेची रंगशालामा झापा औद्योगिक,व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने भएको हो । महोत्सव सञ्चालनका लागि झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राईको संयोजकत्वमा मुल आयोजक तथा अतिथि सत्कार समिति गठन भएको छ । महोत्सवको संरक्षक भद्रपुर नगरपालिका रहेको छ ।
झापा जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपंछी र पर्यटन क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउने दिर्घकालीन र आन्तरिक बजार सवलीकरणका लागि व्यवसायिक उत्थान तथा निकासी योग्य वस्तुमा जोड दिने लक्ष्यसहित महोत्सव गर्न लागिएको सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराईयो ।
आयोजक झापा उद्योग वाणिज्य संघले भद्रपुरमा पत्रकार सम्मेलन गरी कम्तिमा १० करोड रुपैयाँ बराबरको कारोवार तथा एक लाख बढी अवलोकनकर्ताले महोत्सव अवलोकन गर्ने लक्ष्यका साथ महोत्सव सञ्चालन गर्न लागिएको आयोजक संस्थाका कार्यवाहक अध्यक्ष राजकुमार राईले बताए ।
‘समृद्धि आधार, आर्थिक विकासः कृषि पर्यटन उद्योग र व्यापार’ भन्ने मुल नाराका साथ आयोजना हुन लागेको महोत्सवमा लक्ष्य पूरा गर्न घरेलु, कृषि, पर्यटन तथा अन्तर्राष्ट्रिय वस्तु तथा सेवाहरूको प्रवर्द्धनका लागि सयभन्दा बढी विभिन्न स्टल रहने पत्रकार सम्मेलनमा बताइयो ।
आयोजक संस्थाका कार्यवाहक अध्यक्ष राईको अध्यक्षता तथा दिपेश ढकाल, नितेश वर्मा,महावीर मित्रुका, सागर घिमिरे, अम्बिका पोख्रेललगायतका दर्जनौं उद्योगी व्यवसायीहरुबीच सम्पन्न पत्रकार सम्मेलनमा औद्योगिक महोत्सवले वर्तमान विषम परिस्थितिलाई चिर्दैं उद्योगी तथा व्यवसायीहरूलाई आफ्ना उत्पादनहरू, सेवाहरू र व्यापारिक गतिविधि आत्मसात गर्ने प्लेटफर्म प्रदान गर्ने अपेक्षा गरिएको छ । सन् २०१९ को कोभिड महामारी र हालको आर्थिक मन्दीपछि पुनः आर्थिक क्षेत्रलाई चलायमान बनाई आर्थिक वृद्धि हासिल गर्न खोजिरहेका उद्योगी व्यवसायीका लागि यो महोत्सव मञ्चका रूपमा एउटा महत्वपूर्ण कार्यक्रम बन्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
महोत्सव सम्पन्न गर्न विभिन्न नौ वटा उपसमिति गठन भई क्रियाशील रहेको पत्रकार सम्मेलनमा बताइयो । आदित्य पराजुली संयोजक रहने गरी आर्थिक संकलन तथा व्यवस्थापन समिति, खड्गबहादुर लिम्बू संयोजक रहने गरी मञ्च व्यवस्थापन समिति,पवनकुमार श्रेष्ठको संयोजकत्वमा स्टल व्यवस्थापन समिति, माधव विद्रोहीको संयोजकत्वमा प्रचारप्रसार समिति,रोहित काफ्लेको संयोजकत्वमा उपहार तथा प्रकाशन समिति,अम्बिका पोख्रेलको संयोजकत्वमा सुरक्षा तथा स्वयम्सेवक समिति, अनिता कार्कीको संयोजकत्वमा स्वागत तथा सत्कार समिति, राजेन्द्रकुमार घिमिरेको संयोजकत्वमा अनुगमन समिति निर्माण गरिएको पत्रकार सम्मेलनमा बताइयो ।
पत्रकार सम्मेलनमा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्कीले यो महोत्सवको भद्रपुर नगरपालिकाले अपनत्व लिने बताइन् । पत्रकार सम्मेलनमा पत्रकारहरूले राखेको जिज्ञासामा महोत्सव आर्थिक संकलन तथा व्यवस्थापन समिति संयोजक आदित्य पराजुली,उद्योगी दिपेश ढकाल, नितेश बर्मा, भद्रपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मनोज सुब्बाले जवाफ दिएका थिए । पत्रकार सम्मेलनको सहजीकरण संस्थाका महासचिव सुमन मैनालीले गरेका थिए ।



