कुमरखोद, पुष २३ । दक्षिणी सीमावर्ती झापा गाउँपालिकामा मस्जिद निर्माणको विषयमा कुनै पनि विवाद नरहेको सम्बन्धित व्यक्तिहरुले बताएका छन् ।


सल्टिसकेको पुरानो कुरालाई उठान गरी केही व्यक्तिहरुले सामाजिक सद्भाव विथोल्न खोजेको भन्दै उनीहरुले त्यस विषयमा स्पष्ट पारेका हुन् । झापा गाउँपालिका वडा नं ४ मा मस्जिद निर्माणको विषयमा स्थानीयहरुले विरोध जनाएको समाचार प्रतिदिन दैनिकले हिजो प्रकाशित गरेको थियो । त्यसप्रति आफूहरुको ध्यानाकर्षण भएको जनाउँदै झापा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष ताहिर मुल्वीले मस्जिद निर्माणको विषय उहिले नै सल्टिसकेको बताए । उनले सामान्य गफगाफ गर्दा उठेको त्यस विषयलाई मिलाइसकेको जानकारी दिए ।

त्यस विषयमा जग्गाधनी झापा गाउँपालिका वडा नं ४ बस्ने नजरुल शेखले पनि स्पष्ट पारेका छन् । उनले आफूले मस्जिदको लागि नभएर अरु नै प्रयोजनका लागि त्यहाँ माटो पुरेको बताएका छन् ।

मस्जिद निर्माणको विषयमा विवाद भएको समाचार प्रकाशित भएपछि प्रहरी प्रशासनको पनि ध्यानाकर्षण भएको थियो । त्यस विषयमा स्थलगत रुपमा बुझ्‌दा हाल मस्जिद निर्माणको कुरा नरहेको र विवाद पनि नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्