झापा, पुष २५ । यही पुष २७ र २८ गते काठमाण्डौमा हुन लागिरहेको विशेष महाधिवेशनमा झापाका दुईतिहाई प्रतिनिधिहरुले भाग लिने महाधिवेशन पक्षधरहरुले बताएका छन् ।


महाधिवेशनमा भाग लिनका लागि उनीहरु हिजैदेखि काठमाण्डौ जान थालिसकेका छन् ।‘ हिजै धेरै साथीहरु आइपुग्नु भयो , आज बिहान चारजना आइपुग्नु भयो, आउने क्रम जारी छ ’ महाधिवेशनका पक्षमा खुलेर लागेकी बिर्तामोडकी उमा शिवाकोटीले भनिन्,‘ कोही साथीहरु महाधिवेशनकै दिन आइपुग्नु हुन्छ ।’

काठमाण्डौ पुगेका महाधिवेशन प्रतिनिधिहरुले सचिवालयमा दर्ता गर्ने क्रम जारी छ । झापाका प्रतिनिधिहरुले पनि त्यहाँ दर्ता गराइरहेका छन् । झापामा १२५ जना महाधिवेशन प्रतिनिधि छन् । त्यसमध्ये दुईतिहाई प्रतिनिधिहरुले विशेष महाधिवेशनमा भाग लिने शिवाकोटीले बताइन् । यसअघि गरिएको हस्ताक्षर अभियानमा झापाका ७५ भन्दा बढीले हस्ताक्षर गरेको उनले जानकारी दिइन् ।

विशेष महाधिवेशनको पक्षमा कार्यकर्ताहरु खुलेर लाग्न थालेका छन् । नेपाली काँग्रेस झापा क्षेत्र नं. १ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले विशेष महाधिवेशनमा सहभागिता जनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई अपिल गरेका छन् । बुढाथोकीले हिजो एक विज्ञप्ति जारी गर्दै आफ्‌नो क्षेत्रका सम्पूर्ण महाधिवेशन प्रतिनिधिसहित काँग्रेसका शुभेच्छुक र शुभचिन्तकहरुलाई समेत पनि विशेष महाधिवेशनमा सहभागी हुन अपिल गरेका हुन् । उनी काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निकट मानिन्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्