झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बनेर आगामी चुनावमा जाने तयारीमा रहेका कुलमान घिसिङ र रास्वपाबीचको सहमति भाँडिएको छ ।

उज्यालो नेपाल पार्टीका संरक्षक घिसिङले पुष १४ मा भएको सहमतिविपरीत माग राखेपछि एकता टरेको रास्वपा स्रोतले बतायो ।
ठोस सहमति गर्ने भन्दै घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच शुक्रबार र शनिबार छलफल भएको थियो । छलफलका क्रममा घिसिङले मुख्यतः ६ वटा विषय राखेका थिए ।
’रास्वपाले सिद्धान्त परिवर्तन गर्नुपर्ने, वरिष्ठ उपसभापति र महामन्त्री आफ्नो पक्षलाई दिनुपर्ने, पार्टीको नाम परिवर्तन गर्नुपर्ने, आफ्नो पक्षका ३० जनालाई केन्द्रीय सदस्य दिनुपर्ने उहाँको प्रस्ताव थियो,’ रास्वापमा एक नेताले भने, ’प्रत्यक्ष उम्मेदवारका लागि आफ्नो पक्षको संख्या दिनुपर्ने र उम्मेदवार आफैले चयन गर्न पाउनुपर्ने, चुनावपछि बन्ने सरकारमा आफ्नो पक्षका लागि निश्चित पदहरू अहिले नै टुंग्याउनुपर्ने जस्ता माग राखेपछि थप सहमतिका लागि अघि बढ्नुपर्ने अवस्था रहेन ।’
रास्वपा प्रवक्ता मनीष झाले पनि अहिलेलाई एकता नहुने भएको बताए । ‘आगामी दिनमा सहकार्य गर्ने गरी अहिलेलाई एकता सम्भव भएन । अहिले नै उम्म्मेदवारको संख्या दिने र तपाईं नै उम्मेदवार टुंग्याउनुस् भन्न सकिएन, कस्ता उम्मेदवार ल्याउनुहोला भन्ने हामीलाई शंका छ,’ उनले भने, ‘लोकतान्त्रिक सिद्धान्त अपानाएको पार्टी भएकाले अन्य सिद्धान्त लिइराख्नुपरेन । पार्टीको नाम परिवर्तन गर्ने कुरा पनि सम्भव भएन ।’
पुष १४ मा समानुपातिक सूची बुझाउने अन्तिम समयमा उज्यालो नेपाल र रास्वपबीच ७ बुँदे एकता घोषणा भएको थियो ।
रास्वपासँगको एकता भाँडिएपछि उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष नियुक्त गरेको छ ।
निर्वाचन आयोगमा अध्यक्ष अनुप उपाध्यायको नाममा पार्टी दर्ता भएको थियो ।
रास्वपाको उपसभापति बनेर आगामी चुनावमा जाने तयारीमा थिए घिसिङ । तर रास्वपासँग सहमति भाँडिएपछि उनलाई उनेपाले अध्यक्ष बनाएको हो ।उनेपाले आजै केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ भने साँझ ६ बजे घिसिङले केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गर्दै छन् ।



