झापा, पुष ३० । आफ्‌नो संस्थालाई आधिकारिक मान्दै आएको सुवन्तकुमार राजवंशी नेतृत्वको राजवंशी समाज विकास समितिले अभय राजवंशीमाथि कार्वाहीको माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले डोमालाल राजवंशी रंगशालामा कार्यक्रम रद्ध गर्न आदेश दिँदादिँदै उक्त आदेशको अवज्ञा गरी प्रशासनलाई नै चुनौती दिई अराजक शैलीमा अभिव्यक्ति दिएको भन्दै अध्यक्ष सुवन्तकुमार राजवंशी र महासचिव चन्द्रप्रसाद राजवंशीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी कार्वाहीको माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ , ‘संस्थाको कुनै पनि पदमा नरहेको अभय भनिने बरुण राजवंशीले ‘राजवंशी समाज विकास समितिको केन्द्रीय अध्यक्ष मै हुँ’ भनी झापा जिल्लाका जिल्ला प्रमुख अधिकारीलगायत अन्य व्यक्ति तथा समुदायलाई अपमानजनक अभिव्यक्ति दिँदै हाम्रो संस्थाको गरिमामा नै आँच आउने कार्य गरेकाले हाम्रो घोर आपत्ति छ । यसरी सार्वजनिक स्थलमा जो कोहीले प्रमुख जिल्ला अधिकारीलाई नै अपमानजनक तरिकाले वक्तव्य दिँदा हाम्रो संस्थालाई कदापि स्वीकार्य हुने छैन । सो कार्यक्रममा राजवंशी समाज विकास समितिको कुनै किसिमको पनि संलग्नता नरहेको जानकारी गराउँदै यस्तो अभिव्यक्ति दिने जो कोहीलाई पनि आवश्यक कानुनी कार्वाही गर्न यसै विज्ञप्तिमार्फत अनुरोध गर्दछौं ।’

साथै भाक्का दिवस संचालन गर्नको लागि विभिन्न व्यक्ति, संघ संस्था, निकायहरुमा अभयले आफूहरुको संस्थाको लेटरप्याड र छाप दुरुपयोग गरी गैरकानुनी रुपमा आर्थिक संकलन गरेको आरोप लगाउँदै उनीहरुले आवश्यक कार्वाहीको माग गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्