झापा, माघ १ । कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।

शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिले नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई कारबाही गरेको केही घण्टामै विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो । यससँगै कांग्रेस विभाजित भएको छ ।
पार्टी उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन्‌ ।

विशेष महाधिवेशनले महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई निर्विरोध चयन गरेको छ । पौडेल १४ औं महाधिवेशनमा देउवाको प्यानलबाट महामन्त्रीमा पराजित भएका थिए । घिमिरे विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने नेता हुन्‌ । घिमिरे नेविसंघको अध्यक्ष हुँदा थापा महामन्त्री थिए ।

सहमहामन्त्रीमा डिला संग्रौला (महिला), प्रकाश रसाईली (दलित), बहादुरसिंह लामा (आदिवासी जनजाति), उदयशमशेर जबरा (खस आर्य), मुक्ताकुमारी यादव (मधेशी), फरमुल्लाह मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारू) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) चयन भएका छन्‌ । विशेष महाधिवेशनले १२१ जनालाई केन्द्रीय सदस्य चयन गरेको छ ।झापाबाट सुधिरकुमार शिवाकोटी र उमा शिवाकोटी केन्द्रीय सदस्य भएका छन् ।

सभापतिमा निर्वाचित भएपछि थापाले पार्टीमा शेरबहादुर देउवाको अध्याय टुंगिएको उद्घोष गरे । उनले कांग्रेस गुटबाट मुक्त भएको बताए ।

देउवा कार्यकारी भूमिकामा सक्रिय बन्न नहुने विशेष महाधिवेशन पक्षधरको माग सुन्न संस्थापन पक्ष तयार नभएपछि कांग्रेस विभाजित भएको हो । यसले कांग्रेसको आन्तरिक जीवनमा मात्रै नभएर समग्र नेपाली राजनीतिमै तरंग ल्याएको छ । अब थापा र देउवा नेतृत्वका दुई समानान्तर केन्द्रीय कार्यसमिति आमनेसामने भएका छन्‌ । पार्टीको झन्डा र चुनाव चिह्न रुख कसले पाउने भन्ने विवाद पनि उत्पन्न भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्