झापा,पुष ३० । आगामी निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीलाई कसैले पनि हराउन नसक्ने उनका कार्यकर्ताहरुले दावी गरिरहँदा आजभन्दा १८ वर्षअघि पहिलो संविधानसभा चुनाव जितेका विश्वदीप लिङ्देनले ओलीलाई हराउन केही पनि कठीन नभएको बताएका छन् ।

पहिलो संविधान सभा निर्वाचनमा साविकको क्षेत्र नम्बर ७ मा लिङ्देनले ओलीलाई ११४० मतको अन्तरले हराएका थिए । लिङ्देनले १६ हजार ९९ मत ल्याउँदा दोस्रो बनेका ओलीले १४ हजार ९५९ मत पाएका थिए । कांग्रेसले त्यसबेला ११ हजार मत ल्याएको थियो भने राप्रपाले ३ हजार ४७८ मत पाएको थियो । युवा नेता लिङ्देनले ०६४ सालको संविधानसभा चुनावमा माओवादीका तर्फबाट केपी ओलीसँग चुनाव लडेका थिए ।
राम्रो उम्मेद्वार खडा भए झापा क्षेत्र नं ५ मा ओलीलाई सजिलै हराउन सकिने लिङ्देनले विश्वास व्यक्त गरे । त्यसबेलाका संघीयता विरोधी रहेका ओली अहिले भ्रष्टाचारीका नाइके भएको भन्दै झापा क्षेत्र नं ५ का मतदाताहरु असल उम्मेद्वारको खोजीमा रहेको लिङ्देनको भनाई छ । कांग्रेस महासमिति सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष रहेका लिङ्देनले पार्टीले आगामी निर्वाचनमा आफूलाई टिकट दिए ओलीलाई हराएर देखाइदिने दावीसमेत गरेका छन् ।



