झापा, माघ ३ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि झापामा ५ हजार ४७९ जनाले निर्वाचन प्रहरीका लागि आवेदन फाराम भरेका छन्।

नेपाल प्रहरीमा ४ हजार ३०८ र सशस्त्र प्रहरीमा ४८९ जना गरी ४ हजार ७९७ जना निर्वाचन प्रहरीको कोटा रहेकोमा यस पटक ६८२ जनाको माग भन्दा बढी आवेदन परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
नेपाल प्रहरीमा ५ हजार २०१ र सशस्त्रमा २७८ जनाले आवेदन फाराम भरेका थिए। आवेदन दिनेमा महिला १ हजार ५२९ र पुरुष ३ हजार ९८३ जना रहेका छन्। जिल्लामा अघिल्लो निर्वाचनहरूको तुलनामा यस पटक आवेदन दिनेको संख्यामा कमी आएको छ। पहिलो चरणमा आवेदन दिनेहरूमध्ये छनोटमा परेकाहरूको नामावली माघ ४ गते प्रकाशन गरिने डीएसपी खड्काले बताए। त्यसपछि दोस्रो चरणमा छनोटमा परेकाहरूको स्वास्थ्य तथा शारीरिक परीक्षण गराउने र तेस्रो चरणमा लिखित परीक्षा लिएर त्यसपछि मात्र अन्तिम नामावली प्रकाशन गरिने उनले बताए।
२०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि झापामा २ हजार ७ सय ६४ म्यादी प्रहरी माग संख्या रहेकोमा ८ हजार ४३९ जनाले आवेदन फारम भरेका थिए । त्यस बेला झन्डै चार गुणा बढीले आवेदन दिएका थिए । त्यस्तै २०७९ मंसिर ४ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा ६ हजार ९५८ जनाले दरखास्त दिएकोमा ३४९० जना उत्तीर्ण भएका थिए। २०७४ मंसिर २१ गते भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि झापामा ७ हजार ९ सय जनाले आवेदन फाराम भरेकोमा २ हजार ७५५ जना म्यादी प्रहरी छनोट भएका थिए । यो तथ्याङ्क अनुसार यस पटकको निर्वाचन प्रहरीको जागिर खान युवायुवतीहरू त्यति इच्छुक देखिएनन् ।



