काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ( बालेन)ले महानगर प्रमुख पदबाट राजीनामा दिएका छन् ।

आइतबार उनले महानगर उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।राजीनामा दिएसँगै उनी रास्वपा पार्टी कार्यालय पुगेका छन् । शाहले महानगर प्रमुखको पदबाट राजीनामा दिएको प्रेस सल्लाहकार सुरेन्द्र बजगाईंले बताए । शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट लड्ने तयारीमा छन् ।
बालेनको राजीनामापछि काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी उपमेयर सुनिता डंगोलले पाएकी छन् ।
महानगरका प्रमुख शाहले पदबाट राजीनामा दिएलगत्तै डंगोलले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार मेयरले पदबाट राजीनामा पाएपछि स्वतः उपमेयरले कार्यवाहक पाउने व्यवस्था छ । सोही ऐनबमोजिम सुनिता कार्यवाहक बनेकी हुन् ।
राजीनामा दिएलगत्तै उनी रास्वपाको पार्टी कार्यालयमा पुगेका थिए । उनी १० मिनेटमै त्यहाँबाट बाहिरिएका छन्।
आजै रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै छ । बैठकपछि पार्टी सभापति रवि लामिछानेसँगै शाह र अन्य नेताहरू जनकपुरमा आयोजना गर्न लागिएको चुनावी कार्यक्रमका लागि जाने तयारीमा छन्।



